तनहुँ जलविद्युत्मा स्थानीय सुरक्षाकर्मी राख्न माग

1210

वैशाख १० गते

दमौली:  निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सुरक्षाका लागि स्थानीय सुरक्षा गार्ड नियुक्त गर्न माग गरिएको छ । तनहुँ सेक्युरिटी सर्भिस कम्पनीले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी तनहुँ सेक्युरिटी सर्भिस कम्पनीमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा तनहुँकै भूपू सुरक्षाकर्मीलाई नै प्राथमिकता दिनुपर्ने कम्पनीका अध्यक्ष प्रकाश मल्लले बताउनुभयो ।

२०६९ सालमा स्थापना भएको तनहँु सेक्युरिटी सर्भिसमा तनहुँ जलविद्युत् आयोजनालाई पर्याप्त हुने सुरक्षागार्ड रहेको भन्दै अध्यक्ष मल्लले जिल्लामा सञ्चालन हुने आयोजनाको सुरक्षा जिल्लाकै सुरक्षाकर्मीले गर्नसक्ने दाबी गर्नुभयो ।

अन्य जिल्लाबाट ल्याइने सुरक्षाकर्मीलाई उल्टै सुरक्षा दिनुपर्ने भन्दै उहाँले तनहुँ का सुरक्षाकर्मीले घरायसी चिन्ताबाट मुक्त भई ढुक्कले आयोजनाको सुरक्षा गर्नसक्ने बताउनुभयो ।

सेक्युरिटी कम्पनीका सल्लाहकार रामबहादुर केसीले अहिले तनहँुका विभिन्न बैङ्क तथा वित्तीय संस्था, सहकारी, होटल, स्कुल र कलेजमा कम्पनीकै सुरक्षागार्डले भरपर्दाे सुरक्षा दिइरहेको भन्दै तनहँु जलविद्युत् आयोजनामा पनि कम्पनीकै सुरक्षाकर्मीलाई स्थान दिइनुपर्ने बताउनुभयो ।

तनहुँ का भूपू सैनिक तथा प्रहरीहरूले तनहँु जलविद्युत् आयोजनाको सुरक्षा गर्न सक्षम भएको भन्दै भूपू सैनिक क्लब तनहँुका सचिव तारालाल मल्लले आयोजनामा तनहँुका भूपूहरूलाई नै जिम्मेवारी दिइनुपर्ने बताउनुभयो ।

तनहुँ जलविद्युत् आयोजनाको सुरक्षा कम्पनी छनोट गर्न टेन्डर आह्वान भइसकेको र केही दिनभित्रमा टेन्डरको नतिजा प्रकाशन हुने प्रक्रियामा छ ।

स्रोत:गोर्खापत्र