अरुण काबेलीले कात्तिक पहिलो साता साधारण सेयर निष्काशन गर्ने

    1574

    २२ असोज, ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको चार गाविस आयोजनास्थल रहेको अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

    कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर कातिक ९ गते देखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको हो । सो पावरको इस्यू म्यानेजर सिद्धार्थ क्यापिटल रहेको छ ।

    कम्पनीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन बन्द छिटोमा कात्तिक १२ र ढिलोमा कात्तिक २३ मा हुने समेत बताएको छ । सो कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा १५ हजार कित्ताको लागि निवेदन दिन पाइनेछ ।

    कम्पनीमा ७० प्रतिशत प्रमोटर सेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर यसअघि नै निस्कासन गरिसकिएको छ । बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको हो ।

    सो पावर कम्पनीको अधिकृत पूजी १ अर्ब ५० करोड रुपैयाँ छ । आयोजना स्थल पाँचथर र ताप्लेजुङ जिल्लाको थर्पु, नागी, थुम्बेदिन र साब्लाखु गाविसमा पर्छ । सो आयोजनावाट बाषिर्क १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्ट विद्युत उत्पादन हुने बताईएको ।

    सो आयोजना बनाउनको लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २५ मेगावाट क्षमताको सो आयोजना प्रतिमेगावाट १६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा हाल १ हजार ९ सय १३ जना प्रमोटर र १४ हजार ६ सय ७३ जना आयोजना प्रभावित क्षेत्रका सेयरधनी छन् ।

    सो कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सिद्धार्थ क्यापिटलको कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु र अरुण काबेली पावर लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

    source : online khabar