जलविद्युत् लगानी तथा विकास कम्पनीले १०% शेयर लाभांश दिने

    1715

    काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

    यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी दश अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

    कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।

     

     

    स्रोत: बिकास न्युज