Internal test of Upper Mai Hydro start

    1229

    इलामको मावुमा निर्माण सम्पन्न भएको अप्परमाई जलविद्युत् आयोजनाले आजदेखि आन्तरिक परीक्षण सुरु गरेको छ । कूल ९.९ मेगावाट क्षमताको उक्त आयोजनाले सम्पूर्ण काम सिध्याएर परीक्षण सुरु गरेको हो । जसअन्तर्गत विद्युत्गहसम्म पानी छोडिएको छ । परीक्षणसँगै मावुदेखि गोदकसम्ममा ५५ वटा टावरमार्फत ट्रान्समिसन लाइनको कामसमेत पूरा भएको जनाइएको छ । 

    “पहिलो चरणमा विद्युत्गहसम्म पानी छोड्छौँ, १५ दिनसम्म आन्तरिक परीक्षण गरेपछि मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ”, आयोजना निर्देशक सन्तोष प्रधानले सुनाए । काबेली कोरिडोरको ग्रिडबाट विद्युत् सप्लाइ गर्ने, मेसिन चलाउने र परीक्षण गर्ने काम गरिन्छ । थप १५ दिन समय लाग्ने आयोजनाले जनाएको छ । परीक्षण सुरु गरेको करिब एक महिनापछि मात्र नियमित विद्युत् उत्पादन हुने निर्देशक प्रधानले बताए । 

    नियमित उत्पादन सुरु भएको १५ दिनसम्म आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रुपमा विद्युत् उपलब्ध गराउनुपर्छ । विद्युत् खरिद–बिक्री सम्झौताअनुसार १५ दिन प्राधिकरणलाई विद्युत् उपलब्ध गराएपछि मात्र आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्न पाउने निर्देशक प्रधानको भनाइ छ । आन्तरिक परीक्षण गर्दा प्रभावित क्षेत्रका सर्वसाधारणलाई खोलामा पौडी नखेल्न र माछा नमार्न आयोजनाले सूचना जारी गरेको छ । रु एक अर्ब ५० करोड लगानी भइसकेको आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्दा ऊर्जा सङ्कट केही कम हुने आयोजनाका निर्देशक प्रधानले बताए । 

    पञ्चकन्या ग्रुपको २५ प्रतिशत र नबिल बैंक, ग्लोबल बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र एनएमबी बैंकको ७५ प्रतिशत लगानी आयोजनाले जनाएको छ । २२ मेगावाटको सानिमा माईको क्यासकेट आयोजनाले पनि गत माघ १२ देखि सात मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । 

     इलामका पुवाखोला, माईखोला, जोगमाई र सिद्धिखोलामा एक-एक आयोजना निर्माणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको पुवाखोला जलविद्युत् आयोजना, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले, माइखोला साना जलविद्युत् आयोजना र जोशी हाइड्रोपावर कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन् ।

    स्रोत: hamrakura