लोडसेडिङ हटेपछि १६ अर्बको डिजेल बचत

    1022

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले तिहारदेखि राजधानीमा लोडसेडिङ् हटेपछि १६ अर्ब रुपैयाँ बराबरको डिजेल इन्धन बचत भएको जानकारी दिएका छन् ।  उर्जामन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको ‘उर्जा खपत तथा व्यवस्थापन’ विषयक छलफलमा अध्यक्ष मुरारकाले यस्तो जानकारी दिएका  हुन । उद्योगमा लोडसेडिङ घटेकोले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासंघले पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विद्युत्को उच्च माग सम्बोधन गर्न चिनी मिलबाट विद्युत् उत्पादन गर्न सकिने जानकारी दिएका थिए ।  महासंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले उर्जा व्यवस्थापनमा सुधार गरे हालको मागलाई सम्बोधन गर्न सकिने बताए  । होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेलका प्रबन्धकले डिजेल खर्चमा कमी आई होटललाई ठुलो राहत पुगेको बताएका थिए । आवश्यक परेको बेलामा होटेलसँग भएको डिजेल जेनेरेटरमार्फत सरकारलाई विद्युत उपलब्ध गराउन आफुहरु तयार रहेको समेत उनीहरुले जानकारी दिए ।  हाउजीङ एसोसिएसनका प्रतिनिधिले आवश्यक परे ३० मेगावाट सोलारबाट विद्युत् उत्पादन गर्न सकिने जानकारी दिए । सोलारबाट बिजुली उत्पादन गर्नका लागि अपार्टमेन्टका छतहरु उपलब्ध गराउन आफुहरु तयार रहेको उनीहरुले बताएका थिए । नेपाल प्रहरीका प्रतिनिधिले पनि विद्युत् चोरीलाई पनि अन्य चोरीसरह सजायको कानुन बनाएमा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने  जानकारी गराएका छन् ।  नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैका सुझाब, सल्लाह तथा प्रतिबद्दताप्रति आभार व्यक्त गर्दै ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।  छलफलको निष्कर्ष पेश गर्दै उर्जामन्त्री शर्माले लोडसेडिङ घटाएपछि देशमा पैंसाको बचत हुनुको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताए  । जनताको निराशाको अभियानलाई आशामा बदल्ने कार्यमा उर्जा मन्त्रालय अहोरात्र लागि परेको बताए । मन्त्री शर्माले पिक आवरमा विद्युत भार कटौति गर्ने गरी आफु मातहतका कर्मचारीहरुलाई काम गर्न निर्देशन दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका थिए । “लोडसेडिङ अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्” उनले भने,“तपाईहरुको सहयोग र सदभावबाट उत्साहित भएर नै हामीले लोडसेडिङ अन्त्यको योजना अघि बढाइरहेका छौं ।”

      Source: Baahrakhari