१६ जलविद्युत् आयोजनालाई निर्माण तथा उत्पादनको अनुमति

1461

२०७७ मंसिर, १०

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो चौमासमा १६ जलविद्युत् आयोजनाले विद्युत् विकास विभागबाट निर्माण तथा विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरेका छन् ।

विद्युत् विकास विभागका अनुसार १ मेगावाटभन्दा बढी क्षमता भएको १६ जलविद्युत् आयोजनाले निर्माण तथा उत्पादनको अनुमति पाएका हुन् । ती आयोजनाको कुल क्षमता भने ३७९ दशमलव ५१ मेगावाट रहेको छ ।

विभागको अनुसार ती आयोजनाले पाएको अनुमतिपत्रको अवधि ३५ वर्ष अर्थात् विसं २११२ सम्मका लागि रहेको छ । त्यसपछि ती आयोजना नेपाल सरकारको नै हुने व्यवस्था छ ।

गत आवको सोही अवधिमा ६ आयोजनाले मात्र आयोजना निर्माणको अनुमतिपत्र प्राप्त गरेका थिए । तर, चालू आवमा भने निर्माणको अनुमति पाउने आयोजनाको संख्या बढेको देखिन्छ ।

पछिल्लो समय फास्टट्र्याकमा काम गर्दा निर्माण तथा विद्युत् उत्पादनको अनुमति पाउने आयोजनाको संख्या बढेको विभागको भनाइ छ । फास्टट्र्याकमा काम गर्दा लाइसेन्सका लागि परेका आवेदन पहिलाको जस्तो लामो समयसम्म पेन्डिङमा नबस्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए । अहिले प्रवर्द्धक कम्पनीहरूले छोटो समयमा नै लाइसेन्स पाउने थालेको उनको भनाइ छ ।

निर्माणको अनुमतिपत्र पाउने आयोजनामध्ये सबैभन्दा ठूलो आयोजना तमोर मेवा जलविद्युत् आयोजना रहेको छ । ताप्लेजुङमा बन्ने उक्त आयोजनाले १२८ मेगावाट विद्युत् उत्पादन गर्ने अनुमति पाएको हो । यस्तै, दोस्रो ठूलो आयोजनामा ८६ दशमलव ५९ मेगावाटको लान्द्रुक र तेस्रोमा ७० मेगावाटको दूधकोशी–२ जलविद्युत् आयोजना रहेको छ ।

निर्माण अनुमति पाएका आयोजनाहरूमा १४ दशमलव ७ मेवाको मुदी खोला, १३ दशमलव ४२ मेवाको मिदिम १, ११ दशमलव  शून्य ५ मेवाको सुनिगढ जलविद्युत् आयोजना पनि रहेका छन् । अन्य १० आयोजना भने १० मेगावाटभन्दा कम क्षमताका छन् ।

मिड सोलुखोला, जुरिम्बा खोला, मेनचेट खोला, हिडीखोला, मिडिल टाडी, अपर पिलुवा ३, पेगुखेला, लोवर मिड रावाखोला, लोवर ताराखोला र मिड रावाखोला जलविद्युत् आयोजना रहेका छन् । यही अवधिमा अन्य ६ आयोजनाहरूले निर्माणको अनुमतिपत्रका लागि विभागमा आवेदन दिएका छन् ।

विभागका अनुसार कुुल ७० दशमलव ७३ मेगावाट क्षमता भएको ६ आयोजनाले निर्माण तथा विद्युत् उत्पादनको लागि अनुमति मागेका हुन् ।

निर्माणको अनुमतिपत्र माग गर्नेमा ८ दशमलव ८३ मेगावाटको दूधपोखरी चेपेखोला जलविद्युत् आयोजना, ७ दशमलव ७ मेवाको अपर पिलुवा–१ जलविद्युत् आयोजना र २४ दशमलव ७ मेगावाटको सुपर मेलम्ची जलविद्युत् आयोजना रहेका छन् । यस्तै, २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजना, ६ दशमलव ४ मेगावाटको लवर चर्नवती जलविद्युत् आयोजना र १ दशमलव १ मेगावाटको लोम्सा जलविद्युत् आयोजनाले पनि आयोजना निर्माणको अनुमति माग गर्दै विभागमा आवेदन दिएका छन् ।

 

स्रोत: अभियान