बिजुली आपूर्ति सुधार्न एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

1452

१२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको पावर ट्रान्समिसन र वितरणको स्तरोन्नतिको लागि १५ करोड ६० लाख डलर ( करिक १८ अर्ब ४७ कराेड रूपैयाँ)  ऋण स्वीकृत गरेको छ ।

नेपालको अधिकांश मानिसको पहुँच ग्रिडबाट आपूर्ति हुने विद्युतमा रहेको अवस्थामा यसको क्षमता वितार, विद्युत् वितरण नेटवर्कको वर्तमान र भविष्यमा बढ्नसक्ने मागलाई धान्न सक्ने बनाउनु, आपूर्तिको विश्वसनीयता र गुणस्तरमा सुधार र विद्युत् नोक्सानी कम गर्नु जरुरी देखिएको छ ।

विद्युत् ग्रिड आधुनिकीकरण प्रजेक्टले मुलुकभर स्वचालित सबस्टेसन बनाउने, वितरण तथा ट्रान्समिसन प्रणालीलाई आधुनिकीकरण गर्ने काठमाडौंमा स्मार्ट मिट राख्ने काम पुरा गर्ने र क्षेत्रको पुनर्संरचनाको लागि सहयोग गर्ने तथा नेपाल विद्युत् प्राधिकरणलाई बलियो बनाउनेका लागि आवश्यक कोष प्रदान गर्नेछ ।

एडीबीका प्रमुख ऊर्जा विशेषज्ञ जीवन आचार्यले एडीबीले नेपालमा विश्वसनीय र प्रभावकारी विद्युत् आपूर्तिको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताए । साथै यो प्रोजेक्टले कोरोनाको कारण समस्यामा परेको नेपालको अर्थतन्त्रमा सुधारको लागि पनि सहयोग गर्ने बताए ।

यो प्रोजेक्टले ३४ ग्रिड सबस्टेसनलाई स्वचालित बनाउनेछ, २२० र १३२ किलोभोल्टको स्वचालित सबस्टेसन स्थापना गर्नेछ । समग्रमा ११३ किलोमिटरको ट्रान्सिमिसन लाइन निर्माण हुनेछ भने १४४ किलोमिटरको अहिले रहेको ट्रान्सिमिसन लाइनलाई अपग्रेड गरिनेछ ।

साथै काठमाडौं उपत्यकाका तीन लाख ५० हजार प्रयोगकर्तालाई स्मार्ट मिटर प्रदान गरिनेछ । साथै विद्युत् वितरण प्रणालीलाई नेतृत्व र नियन्त्रण गर्ने केन्द्रित पनि स्थापना गरिनेछ ।

यो प्रोजेक्टले विद्युत्का प्रभावकारी र सुरक्षित प्रयोगबाट प्रयोगकर्ताहरुलाई सचेतनाको कार्यक्रम पनि ल्याउनेछ । साथै प्रभावकारी विकासको योजना कार्यान्वयनका लागि विद्युत् प्राधिकरणको संस्थागत सुधारको काम हुनेछ ।

त्यसका साथै कर्मचारीलाई स्वचालित ग्रिड सबस्टेसनको व्यवस्थापनको विषयमा तालिम दिइनेछ ।

 

अनलाइनखबर