काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना ः प्रसारण लाइन रिङ

    1647

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युत आपूर्ति सुधार गर्न उच्च क्षमताको प्रसारण लाइनको रिङ नै बनाउने भएको छ । प्राधिकरणले आगामी दिनमा हुने विद्युत माग र आपूर्तिको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागेको हो । अहिले उपत्यकामा १३२÷६६ र ६६÷११ केभी प्रसारण लाइनमार्फत विद्युत आपूर्ति भइरहेको छ ।
    काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै मानोपोल प्रसारण लाइन रिङ निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

    बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाई ७५ किलोमिटर हुने छ । आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक÷दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्तिका लागि अहिले रहेको संरचनाले नधान्न भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माणको काम अगाडि बढाइएको जानकारी दिए । ‘प्रसारण लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०÷१३२ र १३२÷११ केभीका एक÷एक वटा सबस्टेसन बन्नेछन्’,उनले भने । ‘बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो ।’
    प्राधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन गर्न लागिरहेको छ । लगानीका लागि एसियाली विकास बैकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ ।
    लोडसेडिङको अन्त्य भएपछि काठमाडौं उपत्यकामा विद्युतको माग ह्वात्तै बढेको छ । जसले गर्दा प्राधिकरणले अहिले रहेको प्रसारण तथा वितरण लाइनको क्षमता कम तथा जीर्ण रहेकाले विद्युत ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्ने लगायतका समस्या ब्यहोरिरहेको छ ।
    दोलखामा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००÷२२० केभी प्रसारण लाइन निर्माण सुरु गरिसकेको छ । यसका लागि काठमाडौंका लप्सीफेदीमा २२०÷१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२÷११ केभीको सबस्टेसन पनि निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ“–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना करिब २०वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउ“बासीस“ग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारण लाइनको निर्माण अवरुद्ध छ । थानकोट–चापागाउ“–भक्तपुर प्रसारण लाइनको काठमाडौं र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर,मुआब्जामा चापागाउ“बासीस“ग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करिव १५ किलोमिटर प्रसारण लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष ०५५÷५६मा सुरु भएको थियो । यसले गर्दा पनि उपत्यको विद्युत आपूर्तिमा समस्या छ ।
    आयोजना र स्थानीयबीच १३२ केभीको प्रसारण तार मुनी पर्ने ९ मिटर दायाँ र ९ मिटर वायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नु पर्ने माग गर्दै आएका छन् ।
    प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने योजना बनाई त्यही अनुसार काम गरिरहेको छ ।