जलविद्युत् कम्पनी प्रोफाइल : सानिमा हाइड्रोपावर लिमिटेड

    2935

    नेपालको समग्र विकासका लागि जलविद्युत् उत्पादनमार्फत योगदान गर्ने उद्देश्यले सन् १९९९ मा सानिमा हाइड्रोपावर कम्पनीको स्थापना भएको हो । यसका धेरैजसो प्रवर्द्धकहरू इञ्जिनीयरिङ पृष्ठभूमि भएका गैरआवासीय नेपालीहरू रहेका छन् । कम्पनीको लक्ष्य देशको आर्थिक वृद्धि तथा दीर्घकालीन विकासका लागि उदाउँदो बजारमा नेतृत्वदायी जलविद्युत् कम्पनी हुने रहेको छ । कम्पनीसँग सम्बन्धित क्षेत्रका ५८ जना विज्ञहरूको संलग्नता रहेको छ ।

    कम्पनीले देशभित्रका २६ ओटा र देशबाहिरका ११ ओटा जलविद्युत् आयोजनाका लागि परामर्शदाताको काम गरेको छ ।

    सानिमाभित्र सङ्गठित विभिन्न कम्पनीको मातहतमा जलविद्युत् परियोजनाहरू अघि बढाउने काम भइरहेको छ । जसमा,
    १.     सानिमा हाइड्रोपावर प्रालि
    –    माई क्यास्केड हाइड्रोपावर प्रोजेक्ट (४.५ मेवा)
    –    अपर तमोर हाइड्रोपावर प्रोजेक्ट (४१५ मेवा)
    २.    सानिमा हाइड्रो एण्ड इञ्जिनीयरिङ प्रालि
    –    मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट (५७ मेवा)
    ३.     सानिमा माई हाइड्रोपावर प्रालि
    –    माई हाइड्रोपावर प्रोजेक्ट (१५.६ मेवा)
    ४. श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्ष्ट्रक्शन प्रालि
    –    लोअर लिखु हाइड्रोपावर प्रोजेक्ट (२७.५ मेवा)

    सुनकोशी साना जलविद्युत् आयोजना  
    यो आयोजना यस कम्पनीले सफलतापूर्वक सम्पन्न गरेको पहिलो आयोजना हो । आयोजना सिन्धुपाल्चोक जिल्लाको साबिकको धुक्सुन गाविसमा पर्दछ । यो सुनकोशी र भोटेकोशी नदीको सङ्गमको करीब ५ सय मिटर तल पर्दछ । यो आयोजना काठमाडौं उपत्यकाबाट करीब ९० किलोमिटर उत्तर–पूर्वमा अरनिको राजमार्गमा पर्दछ । नदी प्रवाही (रन अफ रिभर) प्रकृतिको यस आयोजनाबाट २ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । जसका लागि दुईटा टर्वाइनको प्रयोग भएको छ ।  यो आयोजना प्रेसर पाइपका रूपमा ग्लास फाइबरको प्रयोग भएको प्लाष्टिक पाइप प्रयोग गर्ने यस क्षेत्रकै पहिलो आयोजना हो ।

    माई हाइड्रोपावर
    यो आयोजना इलामको साबिकको दानाबारी र चीसापानी गाविसमा पर्दछ । यसले २२ मेगावाट विद्युत् उत्पादन गर्ने गर्दछ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडी गार्हस्थ्य उपयोगमा प्रवाह गर्नु आयोजनाको उद्देश्य रहेको थियो । आयोजनाका लागि ५ सय ८९ वर्गमिटर क्षेत्रफलको पानी उपयोग हुने गर्दछ । यो आयोजना २०७१ सालमै सम्पन्न भएको हो ।

    माई क्यास्केड हाइड्रोपावर
    यो आयोजना इलाम जिल्लाको साबिकको दानाबारी गाविसमा पर्दछ । यसको विद्युत् उत्पादन क्षमता ७ मेगावाट रहेको छ । आयोजनाले हिउँदमा ६ दशमलव ५६ गिगावाट आवर र वर्षामा २४ दशमलव ४६ गिगावाट आवर विद्युत् उत्पादन गर्छ । यो आयोजना २०७२ मा सम्पन्न भएको हो । यसबाट उत्पादित विद्युत् ३३ केभीको प्रसारण लाइनका माध्यमबाट सबस्टेसनसम्म पुर्‍याइएको छ ।

    लोअर लिखु हाइड्रोपावर प्रोजेक्ट
    यो आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्दछ । जुन दुवैतर्फका गरी साबिकका सैंपु, बिजुलीकोट र गोठगाउँ गाविसहरूमा अवस्थित छ । यसको विद्युत् उत्पादन क्षमता २८ दशमलव १ मेगावाट रहेको छ । हिउँदको समयमा यसले २८ दशमलव ८२ गिगावाट आवर विद्युत् उत्पादन गर्ने र वर्षाको समयमा १ सय ३४ दशमलव ७० गिगावाट आवर उत्पादन गर्ने अनुमान रहेको छ ।

    अपर तमोर हाइड्रोपावर
    प्रस्तावित अपर तमोर हाइड्रोपावर परियोजनाको क्षमता ४ सय १५ मेगावाट रहेको छ । यो आयोजना ताप्लेजुङ जिल्लामा पर्दछ । यो आयोजना भारतसँगको नेपालको पूर्वी सीमाक्षेत्रमा पर्दछ । यसको ६० किलोमिटरको दूरीमा सिक्किमको रङ्गिट परियोजना (६० मेवा) रहेको छ । यस परियोजनाको सम्भाव्यता अध्ययनका लागि कम्पनीले सम्भाव्यता अध्ययन अनुमतिपत्र प्राप्त गरी अध्ययन गरिरहेको छ । प्रारम्भिक मुख्य विशेषताहरूमा यो आयोजनाले वार्षिक औसत २ हजार १ सय ५६ दशमलव ३ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ ।

    मध्य तमोर हाइड्रोपावर
    यो आयोजना ताप्लेजुङ जिल्लामा पर्दछ । आयोजनाको विद्युत् उत्पादन क्षमता ७५ मेगावाट रहेको छ । यसको विद्युत् उत्पादन गृह अर्धभूमिगत प्रकृतिको रहेको छ ।

    कम्पनीको वित्तीय तथा शेयर कारोबारको अवस्था :
    सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडको आव २०७२/७३ को तेस्रो त्रैमासको वित्तीय अवस्थालाई हेर्दा चुक्ता पूँजी रकम रू.१ अर्ब ५ करोड ५० लाख रहेको छ । चुक्ता पूँजीमा कम्पनीले एक वर्षको अवधिमा कुनै परिवर्तन गर्न सकेको छैन । पूँजी बढाउने उद्देश्यले कम्पनीले साउन २७ देखि भदौ २९ गतेसम्म १ः१ को अनुपातमा प्रतिशेयर रू.१०० अङ्कित दरका १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद निष्कासनको अनुमतिका लागि कम्पनीले लामो समय कुर्नुपरेको थियो ।

    नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैङ्क, वित्तीय तथा बीमाबाहेक अन्य कम्पनीको हकप्रद तथा थप सार्वजनिक निष्कासनका लागि फरक शर्त तथा मापदण्ड तय गरेका कारण स्वीकृतिका लागि लामो समय कुर्नुपरेको हो । कम्पनीले २०७३ मङ्सिर ३ गते धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति मागेकोमा असार १५ गते मात्र पाएको हो । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ११ करोड पुग्नेछ । कम्पनीको हकप्रदमा साउन ८ गतेसम्म शेयर किन्ने सदस्यहरूले आवेदन दिन सक्नेछन् । हकप्रद शेयरको विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

    कम्पनीले आव २०७३/७४ को तेस्रो त्रैमासमा अघिल्लो वर्षको सोही समयको तुलनामा ५ सय १७ प्रतिशतले बढाएर रू. २६ करोड ९५ लाख ९६ हजार नाफा कमाएको छ । यो त्रैमासमा विद्युत् विक्रीबाट मात्र रू. ६३ करोड ३४ लाख ५४ हजार आम्दानी गरेको छ । विद्युत् विक्री आय अघिल्लो आवको सोही समयको तुलनामा १ सय ४१ प्रतिशतले बढी हो । त्यस्तै, ब्याजबाट रू. ४० लाख ८ हजार र अन्यबाट रू. ८ लाख १८ हजार आम्दानी गर्न कम्पनी सफल देखिएको छ । कम्पनीले सो समयमा रू. ६३ करोड ८२ लाख ८० हजार कुल आम्दानी गर्दा विभिन्न शीर्षकमा रू. ३७ करोड ८० लाख २१ हजार खर्चिएको छ । यो त्रैमासमा खर्चभन्दा आम्दानी करीब ६९ प्रतिशतले बढेकाले कम्पनीको नाफा बढ्नमा टेवा पुगेको हो ।

    गत आवको तेस्रो त्रैमासमा कम्पनीको जगेडा ऋणात्मक अवस्थाबाट माथि उठेको छ । अघिल्लो वर्ष सोही समयमा रू. २ करोड ३८ लाख ५ हजार रहेको जगेडा कोष सुधारिएर यो त्रैमासमा रू. २६ करोड ९५ लाख ९६ हजार पुगेको हो । लगानी रकममा यो त्रैमासमा ४० प्रतिशतले वृद्धि देखिएको छ । अघिल्लो वर्ष रू. ५० लाख रकम लगानीमा रहेको कम्पनीले यो वर्ष रू. ७० लाख लगानी गरेको देखिएको छ । तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चालू सम्पत्ति रू. ६२ करोड ८८ लाख र चालू दायित्व रू. १५ करोड ४ लाख २० हजार रहेको छ । कम्पनीको चालू सम्पत्तिमा यो समयमा १ सय ७ प्रतिशतले वृद्धि देखिन्छ भने दायित्व पनि ५८ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ६७ रहेको छ ।

    कम्पनीको शेयर कारोबारलाई हेर्दा आइतवार २७ पटकको व्यापारमा रू. १७ लाख २४ हजार ६ सय ५० मूल्य बराबरको २ हजार ८ सय ७२ कित्ता शेयर खरिदविक्री भएको छ । उक्त दिन रू. ६ सय ५ मा शुरू भएको कम्पनीको शेयर मूल्य न्यूनतम रू. ५ सय ९० र अधिकतम रू. ६ सय ५ सम्म तय भई रू. ५ सय ९५ मा गएर कारोबार बन्द भएको थियो । यसरी आइतवारका लागि कम्पनीको प्रतिशेयर मूल्य रू. ५ सय ९५ कायम भएको छ । कम्पनीको ५२ हप्ताको उच्च मूल्य रू. १ हजार २ सय ३९ र न्यून मूल्य रू. ५ सय ८६ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ तेस्रो त्रैमासमा रू. १ सय २५ दशमलव ५३ रहेको छ । आइतवारको मूल्य नेटवर्थको ५ गुणा छ ।

    स्रोत:अभियान