एक वर्षमा १ खर्बको इन्धन खपत

    1182

    ७० प्रतिशत सवारीसाधनमा खपत, बाँकी उद्योग र निर्माण क्षेत्रमा

    आर्थिक बर्ष ०७३-७४ मा १ खर्ब ९ अर्ब रुपैयाँको इन्धन आयात भएको छ । यो सोही अवधिको अघिल्लो आर्थिक वर्षभन्दा ६६ प्रतिशतले बढी हो । नेपालमा भित्रिने इन्धनमध्ये ७० प्रतिशत सवारीसाधनमा र बाँकी उद्योग, विकास निर्माणलगायत क्षेत्रमा खपत हुने आयल निगमका निमित्त नायव प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

    गतवर्षदेखि नै नेपालमा लोडसेडिङ न्यूनीकरण भए पनि उद्योगमा बढी खपत हुने डिजेल आयातमा खासै असर परेको देखिँदैन । ‘गत आर्थिक वर्षमा कुल १ खर्ब ९ अर्ब ११ करोड ३४ लाख ७९ हजार ५ सय १० रुपैयाँ ४० पैसा इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गरेका छौँ,’ साहले भने ।

    अघिल्लो आव ०७२-७३ मा भूकम्प र नाकाबन्दीले आयात परिमाण खुम्चिएका कारण ५९ अर्बको इन्धन आयात भएको थियो । त्यसअघि आव ०७१-७२ मा ९४ अर्बको इन्धन आयात भएको थियो । हालसम्म सबैभन्दा बढी आव ०६९-७० मा १ खर्ब ३४ अर्बको इन्धन आयात भएको तथ्यांक छ । सो वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च १०६ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमको खरिद दर पनि बढ्ने भएका कारण इन्धन खरिदबापत बाहिरिने रकम बढ्ने गर्छ ।

    ६६ प्रतिशत वृद्धि
    अघिल्लो आर्थिक वर्ष ०७२-७३ को तुलनामा समीक्षा वर्षमा ६६ प्रतिशतले इन्धन आयात बढेको छ । आव ०७२-७३ मा भूकम्प र नाकाबन्दीले आयात प्रभावित पार्दा १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर इन्धन आयात भएको थियो । समीक्षा वर्षमा भने २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर आयात भएको निगमले जनाएको छ ।

    वर्षभर ५० डलर प्रतिब्यारेल
    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मध्यम बिन्दुमा स्थिर रहेका कारण आयात बढे पनि भुक्तानी गर्नुपर्ने रकम तुलनात्मक रूपमा कम भएको निगमले जनाएको छ । ‘अन्तर्राष्ट्रिय बजारको मूल्यमा खासै उतारचढाव नआएका कारण धेरै परिमाणमा इन्धन आयात भए पनि भुक्तानी गर्नुपर्ने रकम कम भयो,’ साहले भने ।

    शनिबार साँझ ब्रेन्ट क्रुड आयलको अन्तर्राष्ट्रिय मूल्य ५२.५२ डलर प्रतिब्यारेलमा पुगेर रोकिएको छ । वर्षभर ५० डलर प्रतिब्यारेलको आसपासमै मूल्य निर्धारण भएको छ ।

    स्रोत:नयाँपत्रीका