राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्दा सबै खालका धम्की आए’

    1925

    उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जनताप्रति उत्तरदायी नबनेका कारण नेपालले लोडसेडिङ भोग्नुपरेको बताएका छन् । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री प्रभाकरले विगतमा देशप्रति घात गरिएकाले लोडसेडिङ भएको दावी गरे । ‘सरकारमा आवद्ध भए देखिको सामुहिक अनुसन्धानबाट देशमा नियतबस लोडसेडिङ गराउने गरेको हाम्रो निष्कर्ष छ’ उनले भने ‘जनउत्तरदायी बन्न नसक्दा लोडसेडिङ गर्ने गरेको प्रमाणित हुन्छ ।’

    नेपाल किन गरिब भयो ?
    उर्जामन्त्री प्रभाकरले काम गर्ने इच्छाशक्तिको अभावमा पर्याप्त स्रोत र साधन भएतापनि त्यसै खेर गएकाले नेपाल गरिव भएको ठहर गरे । उनले स्रोत र साधनको उपयोग गर्नका लागि दृढ इच्छाशक्तिको अभाव हुँदा नेपाल गरिव बनेको जिकिर गरे । उनले कसैको दवाव र प्रभावमा परेर स्रोत र साधनको उचित उपयोग गर्न नसक्नु र विभिन्न प्रलोभनमा परेर अन्य देशलाई त्यसै छाडिदिदाँ नेपाल गरिव भएको बताए ।

    सबै खालका धम्की आए
    कार्यक्रममा उर्जामन्त्री प्रभाकरले लोडसेडिङ अन्त्य गरेपछि व्यापकरुपमा धम्की आएको समेत बताए । ‘मेरो र सरकारकाविरुद्ध अदालतमा दर्जनौँ मुद्धा दर्ता गरिएको छ’ उनले भने, ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सबै खालका धम्कीको सामना गर्न तयार छु ।’

    विज्ञबाट असहयोग
    उर्जामन्त्री प्रभाकरले नेपालको बजारमा उत्पादन भएको विजुली बेच्ने बजार नभएको भनी विज्ञहरुले निकालेको निष्कर्ष गलत भएको टिप्पणी गरे । नेपालमा विद्युतको बजार पर्याप्त भएको भन्दै उनले दशौँ हजार मेगावाट विजुली स्वदेशमै खपत गर्न सकिने बताए ।

    गरिव परिवारका लागि ऋण
    नेपालको चिसापानी कर्णाली जलविद्युत आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना भएको र यस आयोजनाबाट १८ हजार मेगावाट विद्युत उत्पादन हुनसक्ने भन्दै उनले त्यसका लागि आवश्यक रकम नेपालबाटै उठाउँन सकिने ठोकुवा गरे । ‘यस आयोजनाको लागि ६ देखि ७ खर्ब रकम चाहिने रहेछ’ उनले भने ‘प्रत्येक नेपाली परिवारले सरदरमा एक लाखका दरले उठाउँन सकिन्छ ।’ उनले गरिव परिवारका लागि सबैले ऋणको व्यवस्था गर्ने प्रष्ट पारे ।

    भ्रामक निष्कर्ष निकाल्ने विज्ञहरुलाई सवैले चिर्नुपर्ने उर्जामन्त्रीले बताए । ‘विज्ञको कुरा नसुनी आयोजना सम्पन्न गर्नका लागि पहिला जनतालाई विश्वासमा लिनुपर्ने मेरो ठहर थियो’ उनले भने,‘लोडसेडिङ अन्त्य गरेर जनताले विश्वास गर्ने वातावरण बनाइसकेको छु ।’ उनले नेपालको कर्मचारीतन्त्र परीक्षा आएपछि मात्रै पढ्ने विद्यार्थी जस्तो भएको टिप्पणी गरे ।

    कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले निर्धारित मितिमा नै स्ववियु निर्वाचन हुने बताए । उनले २८ वर्षे उमेरहदले वास्तविक विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने पनि जिकिर गरे ।

    कार्यक्रममा न्यौपानेले पशुपति बहुमुखी क्याम्पसमा क्रान्तिकारीको तर्फबाट मदन लिम्बु स्ववियु सभापतिको प्रत्यासी भएको समेत जनाए । लिम्बुले पोखरा विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । हाल उनी पशुपति बहुमुखी क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तरका विद्यार्थी पनि हुन् ।

    स्रोत:नयाँ पत्रीका