खेर गयो १३ करोडकोे बिजुली

    1194

    नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका फिडरबाट धेरै विद्युत् चोरी हुने गरेको छ । गत आर्थिक वर्ष ०७२/७३ को अवधिमा हेटौँडा वितरण केन्द्रअन्तर्गतका फिडरहरूबाट १३ करोड ११ लाख रुपैयाँभन्दा बढीको विद्युत् चुहावट भएको हो । चुहावट भएको अधिकांश विद्युत् उद्योग, कलकारखाना, व्यक्ति र केही मात्र प्राविधिक कारणबाट चुहावट भएको देखिएको छ । गत आर्थिक वर्षमा १ करोड ६३ लाख ९५ हजार ११ युनिट विद्युत् चुहावट भएको थियो । हेटौँडा वितरण केन्द्रका ११ वटा फिडरबाट डेढ करोडभन्दा बढी युनिट विद्युत् चुहावट भएको हो । धेरै उद्योग तथा कलकारखाना भएको क्षेत्रमा यतिका धेरै विद्युत् चुहावट हुनु आश्चर्यको कुरा भएको प्राधिकरणका कर्मचारी बताउँछन् ।

    नेपाल विद्युत् प्राधिकरण ग्रिड महाशाखाले हेटौँडा वितरण केन्द्रलाई गत आर्थिक वर्षमा १३ करोड ६२ लाख ५३ हजार ५ सय ७८ युनिट विद्युत् दिएको थियो । ११ करोड ९८ लाख ५८ हजार ५ सय ६७ युनिट मात्र खपत भएको नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्र प्रमुख ऋषिकुमार वर्णवालले जानकारी दिए । बाँकी युनिट चुहावट भएको प्राधिकरणको रेकर्डमा उल्लेख छ । वितरण केन्द्रअन्तर्गत उद्योग तथा कलकारखाना धेरै भएकाले चुहावट अत्यन्त न्यून हुनुपर्ने भए पनि धेरै युनिट चुहावट भएको प्राधिकरणका एक कर्मचारीले बताए ।

    उद्योगलाई विद्युत् उपलब्ध गराउँदा एक प्रतिशत पनि चुहावट नभएको घटना रहेको बताउँदै ती कर्मचारीले भने– ग्रामीण क्षेत्रमा चोरी भएको छ । उद्योगमा जति विद्युत् उपलब्ध गराइएको थियो, त्यति नै खपत हुनुपर्ने र चुहावट नगन्य हुनुपर्नेमा धेरै चुहावटको रेकर्ड छ । हेटौँडा वितरण केन्द्रले एचआइडी, चौघडा, युनिलिभर, भैँसे, भीमफेदी, हेटौँडा सिमेन्ट, शिवम् सिमेन्ट, भुटनदेवी, ग्रामीण, वंशगोपाल, स्टेसन ट्रासफर्मर गरेर ११ वटा फिडरबाट उपभोक्तालाई विद्युत् दिँदै आएको छ । प्रत्येक फिडरका लागि ग्रिड महाशाखाले छुट्टाछुट्टै रूपमा विद्युत् दिँदै आएको छ । त्यहीअनुसार केन्द्रले वितरण गर्ने महाशाखाका सहायक इन्जिनियर कृष्णप्रसाद देवकोटा बताउँछन् ।

    ग्रिडले वितरण केन्द्रलाई दिएको विद्युत् परिमाणको रेकर्ड राखे पनि वितरण केन्द्रले त्यसबाट वितरण गरेर रकम संकलन गर्ने, चुहावट नियन्त्रण गर्ने काम गर्नुपर्ने प्रावधान छ । केन्द्रले हेटौँडा औद्योगिक क्षेत्रको एचआइडी फिडरलाई दिएको विद्युत्मध्ये गत एक आर्थिक वर्षमा ६ लाख ५८ हजार ३ सय ९१ युनिट विद्युत् चुहावट भएको छ । उक्त चुहावटलाई रकममा हेर्दा ५२ लाख ६७ हजार रुपैयाँ हुने जनाइएको छ ।

    औद्योगिक क्षेत्रका उद्योगलाई गत एक आर्थिक वर्षका १२ महिना अवधिमा ग्रिड महाशाखाले एक करोड ५६ लाख ८ हजार १९ युनिट विद्युत् दिएको थियो । तर, उक्त परिमाणमध्ये वितरण केन्द्रले एक करोड ४९ लाख ४९ हजार ६ सय २८ युनिट मात्र खपत गरेर त्यसबापत महसुल संकलन गरेको छ । हेटौँडा सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा पाएको १ करोड ९२ लाख २३ हजार ९ सय १३ युनिटमा त्यत्ति नै युनिट खपत गरेको छ । उद्योगले चुहावट नगरेको प्राधिकरणको रेकर्डमा छ । ठूला तीन फिडरबाहेकमा फिडरवाइज युनिट बिक्री निस्कन नसक्ने र मिटर रिडिङको एरियावाइज फिडर नरहेकाले त्यसमा चुहावट युनिट निस्कन नसक्ने केन्द्र प्रमुख वर्णवालले बताए ।

    आधाभन्दा बढी चोरी कर्मचारीको मिलेमतोमा
    नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयमातहत कार्यालयहरूमा ५३ प्रतिशतसम्म विद्युत् चोरी हुने गरेको पाइएको छ । कार्यालयअन्तर्गत कलैया र गौर वितरण केन्द्रबाट गत आर्थिक वर्षमा ५२ करोड ६५ लाख ४८ हजार रुपैयाँको विद्युत् चुहावट भएको हो । थोरै मात्र प्राविधिक चुहावट भए पनि अधिकांश अवैध तरिकाले चुहावट र कर्मचारीको मिलेमतोमा चोरी भएको हो । विशेष गरी तराईका जिल्लामा कर्मचारीको मिलेमतोमा विद्युत् चोरी भएको पाइएको हो । ग्रामीण क्षेत्रका साना घर र पसलले हुकिङ गरेर विद्युत् चोरी गरे पनि ठूला उद्योग, कलकारखाना, होटेल, व्यावसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले विद्युत् चोराएको आरोपमा प्राधिकरण हेटौँडा वितरण केन्द्रका कर्मचारी महादेव प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको छ । उनले कार्यालयका उच्च कर्मचारीको निर्देशनमा विद्युत् चोराउने काममा संलग्न भएको आरोप लगाइएको छ । प्रधानले हेटौँडा वितरण केन्द्र भन्दा पनि नारायणी अञ्चलका ९ वितरण केन्द्रका कर्मचारीलाई ‘आफ्नै तरिका’बाट काममा लगाउने गरेको कर्मचारी बताउँछन् । प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलव ५१ प्रतिशत चुहावट भएको छ । थोरै प्राविधिक चुहावट भए पनि अधिकांश कर्मचारीको मिलेमतोमा चोराइएको हो । गौर वितरण केन्द्रमा गत एक आर्थिक वर्षमा ३३ करोड ३८ लाख ३१ हजार रुपैयाँबराबरको विद्युत् चोरी भएको थियो ।

    स्रोत:नयाँ पत्रीका