माथिल्लो त्रिशुली ३ ए आयोजनाको म्याद ३४ महिना थप, एक्जिम बैंकले ऋणको म्याद थप नगर्दा समस्या

    1125

    काठमाडौं । माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको म्याद ३४ महिना थप भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण र ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडबीच ६० मेगावाट क्षमताको सो आयोजना आउँदो ०७६ वैशाख (सन् २०१९ अप्रिल) सम्म सम्पन्न गर्ने सहमति भएको हो ।

    ठेकेदारको समय गतवर्ष नै सकिएको थियो । थप ३४ महिनाभित्र काम सक्ने गरी नयाँ समझदारी भएको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । म्याथ थप्ने प्रस्ताव प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरिसकेको उनले जानकारी दिए ।

    यस्तै परामर्शदाता नर्थवेस्ट हाइड्रो कर्पोरेशनको पनि म्याद थप भएको छ । म्याद थप भए पनि इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मा ठेक्का सम्झौता भएकाले रकम थप नहुने उनले स्पष्ट पारे ।
    भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठुलो क्षति पु¥याएपछि आयोजनाको काम सुरु गर्न ढिलाइ भएको हो । आयोजनाको प्रवेश मार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुबैतर्फको ठुलो पहिरो व्यवस्थापन गर्न नेपाली सेना परिचालन भइसकेको उनले जानकारी दिए । जोशीका अनुसार सेनाले अहिले सडकको काम अघि बढाउन रेकि सुरु गरिसकेको छ ।

    “आउँदो जेठसम्म पहुँचमार्ग खुलाउन र पहिरो व्यवस्थापन गर्न सेनालाई अनुरोध गरिसकेको छौं,” जोशीले भने, “सडकको काम सकिनासाथ ठेकेदारले अस्थायी बाँध (कफर ड्याम) बनाएर निर्माण काम सुरु गर्ने सहमति जनाएको छ ।” आयोजनामा सडक बनाउन र पहिरो व्यवस्थापन गर्न सरकारले ६० करोड रुपैयाँ निकासा गरिसकेको छ ।

    २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी यसअघि पनि आयोजनाको दोस्रो पटक म्याद थप भएको थियो । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनी संलग्न छन् ।

    विनासकारी भूकम्प जानुअघि आयोजनाको ६५ प्रतिशत काम सकिएको  थियो । ५ किलोमिटर सडक भूकम्पले ध्वस्त पारेकाले तलबाटै संरचना निर्माण गरेर अघि बढनुपर्ने अवस्था आएको छ ।

    क्षतिग्रस्त ५ किलोमिटर लामो सडक पुनर्निर्माण, २ वटा ठूला पहिरो व्यवस्थापन, नगद प्रवाह बढाउन, आयोजनाको म्याद थप र ऋण सम्झौताको काम तत्काल सक्नुपर्ने भएको छ ।

    कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।

    क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । आयोजनामा परिचालन भएका निर्माण उपकरण भूकम्पले क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याउन ठेकेदारले थप लगानी गर्नुपर्ने देखिएको छ ।

    सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार गरिएको थियो । ईपीसी सम्झौता अनुसार थप काम (भेरियसन अर्डर) हुँदैन् ।
    नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    ऋणको म्याद थपमा भएको ढिलाइले समस्या 
    भूकम्पले आयोजनाको काममा ढिलाइ भएपछि विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयमार्फत ऋण म्याद ५ वर्ष थप गर्न नेपालले अनुरोध गरे पनि लगानीकर्ता चाइना निर्यात–आयात (एक्जिम) बैंकले थपेको छैन् ।

    हालसम्म एक्जिम बैंकले ऋणको म्याद नथप्दा आयोजनास्थलमा ठेकेदार परिचालन भएपछि भूक्तानीमा समस्या आउने उनले जानकारी दिए । “हालसम्म एक्जिम बैंकले निर्णय नगर्दा हामी अन्यौलमा परेका छौं,” उनले भने “आयोजनालाई प्रमुख समस्या भनेको लगानी नै भएको छ ।”

    अर्थले एक्जिम बैंकलाई आगामी सन् २०२१ सम्मका लागि कर्जाको म्याद थप्न ५ महिनाअघि नै अनुरोधसहित पत्राचार गरिसकेको छ ।

    ऊर्जा मन्त्रालयले अर्थमार्फत पटकपटक म्याद थपको प्रस्ताव गर्दा एक्जिम बैंकले प्रतिक्रिया नदिएपछि अर्थले फेरी ५ वर्ष म्याद थपको प्रस्ताव गरेको हो ।

    एक्जिम बैंकको २ पटक भन्दा बढी ऋणको म्याद थप नगर्ने नीति भएकाले एकैपटक ५ वर्ष म्याद थपका लागि प्रस्ताव गरेको हो । यस्तै परामर्शदाताका लागि १ करोड डलर थप सहयोग मागिएको जोशीले जानकारी दिए ।

    स्रोत:बाह्रखरी