चमेलियाको ‘वेट टेस्ट’ शुरु, १५ दिनमै उत्पादन

    1479

    दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले ‘वेट टेस्ट’ शुरु गरेको छ। पूर्व निर्धारित समयभन्दा एक महिना ढिलो आयोजनाको वेट टेस्ट शुरु गरिएको हो।

    ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि ‘वेट टेस्ट’ एक महिनापछि धकेलिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो। दाहालका अनुसार उक्त गेटको मर्मतको काम बिहीबार सकिएपछि यसले बिहीबार बेलुकाबाट नै यसले पानी सञ्चय गर्न थालिएको थियो।

    आयोजनाले एक महिनाअघि नै वेट टेस्ट गर्ने तयारी थालेको थियो। तर वेट टेस्ट गर्नका लागि आयोजनाको गेट चेकजाँच गर्दा कंक्रिटमा समस्या देखिएको थियो। समस्या देखिएपछि आयोजनाले तत्काल मर्मतको काम अघि बढाएको थियो। गेटको कंक्रिटमा समस्या देखिए पानी सञ्चय हुन नसक्ने अवस्था रहेको दाहालको दाबी छ।

    यसैबीच आयोजनाले वेट टेस्ट गरेको करिब १५ दिनपछि परीक्षण उत्पादन थाल्ने योजना बनाएको छ। ‘वेट टेस्ट गरेर सबै ठिक रहेको पायौँ भने जनवरीको शुरुआतदेखि परीक्षण उत्पादन थाल्छौं।’ आयोजना प्रमुख दाहालले भन्नुभयो। जनवरीदेखि एउटा एकाईमा भए पनि विद्युत् उत्पादन थाल्ने तयारी रहेको उहाँले बताउनुभयो। आयोजनाले यसले यसअघि नै ड्राइटेस्ट सम्पन्न गरिसकेको थियो। आयोजनाको सुरुङ, हेडवर्कस् परीक्षणका बेलामा पनि कुनै समस्या देखिएको थिएन।

    आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन पनि तयार पारिसकेको छ। प्रसारण लाइनमा देखिएका समस्या गत असोजमै मर्मत भइसकेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बलाँचमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना सन् २००७ देखि निर्माण शुरु भएको हो। तर, एक दशक बितिसक्दा पनि आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको थिएन। वेट टेस्ट सुरु भएसँगै विद्युत उत्पादन हुने निश्चीत भएको स्थानीय बताउँछन्। आयोजनामा १५⁄१५ मेगावाटका दुई युनिट छन्। ३० मेगावाटको यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ।

    विमल विष्ट, डोटी