घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

    992

    म्याग्दी। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ।

    पाँच दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको  इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए।  म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो। आउटलेट (फोरवे) तर्फको  एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ।

    निलगिरिखोलाको बायाँ किनारमा विद्युत्गृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन्। विद्युत्गृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ। आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ।

    विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए। वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनले बताए।

    पहिले चार मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ। भूकम्पपछि विद्युत्गृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो। चार मेगावाट हुँदा ६५ करोड लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ।

    एक हजार ३०० जनाको ३५ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड ऋण लगानी गरेका छन्।

    साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी भएको र १५ लाख ५५ हजार ७७० कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ जारी गर्नका लागि प्रक्रिया अघि बढाइएको छ। घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा विद्युत जडान गरिने जनाइएको छ।

     

    स्रोत:कारोबार