दुई सोलार आयोजनाको पीपीए

    1156

    प्रतिस्पर्धाको माध्यमबाटै अनुमतिपत्र (लाइसेन्स) लिएका २१ सौर्य ऊर्जा (सोलार) आयोजनामध्ये दुई आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ सम्म पीपीए दर दिन सक्ने उल्लेख गरी प्रतिस्पर्धामार्फत आह्वान गरेपछि लाइसेन्स लिएका दुई आयोजनासँग विद्युत प्राधिकरणले पीपीए गरेको हो ।
    अपी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको सोलार आयोजनासँग पीपीए भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । करिब एक वर्षभित्र उत्पादित विद्युत् परवानीपुरको ११ केभी परवानीपुर र चन्द्रनिगाहपुरको ३३ केभी सवस्टेसनमा जोडिने प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणका अनुसार, प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले हस्ताक्षर गरेका छन् । पीपीए अनुसार दुवै आयोजनाले प्रतियुनिट ७.३० रूपैयाँ पाउनेछन् । अपीले मात्र खुल्ला प्रतिस्पर्धाबाट १० स्थानमा सोलार प्लान्ट स्थापनाका लागि अनुमति लिएको छ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पीपीएको दर प्रतियुनिट ७.३० रूपैयाँ कायम गरियो । पहिला प्रतियुनिट ८.३५ रूपैयाँदेखि ९.४५ सम्म पीपीए दरसहित प्रस्ताव गरे पनि गत मंसिरमा प्रतियुनिट ७.३० रूपैयाँ दर कायम गरेपछि सोही अनुसार पीपीए भएको हो । नयाँ कार्यविधि आएपछि पनि २१ सोलार आयोजनासँग पुरानै दरमा पीपीए गर्ने मनसायसहित तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणमा पठाएपछि यो विवादित बनेको थियो भने विद्युत् प्राधिकरणले नयाँ कार्यविधिमै गर्ने अडान गर्दै आएको थियो । पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा सोलारको प्रतियुनिट ४ रूपैयाँभन्दा कम रहे पनि त्यसको दोब्बर भन्दा बढीमा पीपीए हुन लागेपछि यसको विरोध भएको थियो । लामो समयपछि सोलारका प्रवद्र्धकहरू पुरानै दरमा पीपीए गर्न तयार भएपछि प्राधिकरणले ती कम्पनीसँग पीपीए गरेको हो । अन्य कम्पनीहरूसँग पनि प्रतियुनिट ७.३० पैसामा पीपीए तयार भइ प्रक्रिया अघि बढेको विद्युत् प्राधिकरणले जनाएको छ ।

    -कारोबार