ह्विलिङ चार्ज निर्धारण गर्न ग्रिन भेन्चर्सको अनुरोध

    2794

    काठमाडौं, ३० भदौ-

    Likhuप्रवद्र्धक ग्रिन भेन्चर्स प्रालिले लिखु ४ (१ सय २० मेगावाट) जलविद्युत् आयोजनाबाट भारत बिजुली निकासी गर्दा प्रसारणलाइन उपयोग गरेबापतको शुल्क (ह्विलिङ चार्ज) निर्धारण गर्न सरकारलाई अनुरोध गरेको छ ।
    ग्रिन भेन्चर्सका प्रतिनिधिले आइतबार ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई भेटी यस्तो आग्रह गरेको हो । ग्रिनभेन्चर्सले यसअघि नै ह्विलिङ चार्ज निर्धारण गर्न औपचारिक रूपमा पत्राचार गरेकोमा ऊर्जाबाट प्रतिक्रिया नआएपछि पुनः पहल गरेको छ ।
    कम्पनीका प्रतिनिधिले ह्विलिङ चार्ज निर्धारण गर्न अनुरोध गरेको सचिव पण्डितले बताए । उनले यस विषयमा अध्ययन गरेर शुल्क निधारण गर्ने जानकारी दिए । प्रसारणलाइनमा भएको ढिलाइका कारण ग्रिनभेन्चर्स र नेपाल विद्युत् प्राधिकरणबीच भएको फलव्याक विद्युत् खरिद सम्झौता (पीपीए) कोे अर्थ नभएको उनले बताए । हालसम्म नेपालमा ह्विलिङ चार्जको दर निर्धारण भएको छैन । चार्ज महँगो भए आयोजना आर्थिक रूपमा सम्भाव्य पनि नहुन सक्छ ।
    कम्पनीले प्रस्तावित ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइनबाट भारतमा बिजुली निकासी गर्ने लक्ष्य लिएको छ । आगामी सन् २०१४ को अन्त्यसम्म यो प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा यसको काम सुरु हुन सकेको छैन ।
    भारतको भिल्वरा इनर्जी लिमिटेड र नेपालको त्रिवेणी ग्रुपले संयुक्त रूपमा आयोजना बनाउन लागेका हुन् । आयोजनाको विस्तृत अध्ययन पूरा भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइन निर्माणमा भएको ढिलाइले आयोजना निर्माण हुन सकेको छैन ।  यो आयोजनाबाट उत्पादन हुने बिजुली भारत निकासी गर्ने लक्ष्य लिएको छ । नेपालका ह्विलिङ चार्जको दर निर्धारण हुन सकेको छैन ।
    आयोजनाबाट वि.स. २०७१ पुस १६ गतेदेखि बिजुली उत्पादन गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरे पनि आयोजना निर्माण सुरु भएको छैन । ऊर्जाले २०६८ फागुनमा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको थियो । आफंै निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि आगामी सन् २०९८ फागुनसम्मलाई दिइएको छ ।
    यसैगरी नेपाल विद्युत् प्राधिकरण र ग्रनभेन्चर्ससँग प्रतियुनिट ५.९९ सेन्टमा पीपीए गरेको छ । यसैगरी लिखुको प्रवद्र्धक ग्रिनभेन्चर्ससँग ३ प्रतिशतका दरले १५ पटकसम्म विद्युत्दर बढ्ने भएको छ ।
    भारत निकासीका लागि निर्माण हुन लागेको भए पनि लिखुबाट आवश्यकताअनुसार प्राधिकरणले  सुख्खा र वर्षा दुवै याममा बिजुली खरिद गर्ने सक्नेछ ।  लिखुबाट वार्षिक २९ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुङ जिल्लामा पर्छ ।
    यस्तै आयोजना निर्माणका लागि कम्पनीले गत वर्ष वित्तीय व्यवस्थापन गरिसकेको छ । आयोजना स्थलसम्म पुग्न कम्पनीले सडक निर्माणको काम पूरा गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैवु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

    प्रस्तुति: कारोबर