३० मेगावाटको चमेलियाले उत्पादन सुरु गर्यो

    1527

    दार्चुला : १० वर्षअघि निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ । नियमित उत्पादन माघ ६ गतेबाट थाल्ने भएपनि शुक्रबारै राष्ट्रिय प्रसारण लाइनमा जाडिएको हो ।

    सन् २००७ मा निर्माण सुरु हुँदा आयोजनाको लागत आठ अर्ब अनुमान गरिएको थियो । समयमै निर्माण सम्पन्न गर्न नसक्दा आयोजनाको लागत दुई गुणाले बढेर १५ अर्ब पुगेको छ ।

    आयोजना प्रमुख अजय दाहालका अनुसार यसमा १५ मेगावाटका दुई युनिट छन् । अर्काे युनिट एक महिनापछिबाट मात्रै सञ्चालन आउनेछ । ‘पिकिङ रन अफ दि रिभर भएकाले ६ घन्टामा एउटा युनिटमा १५ मेगावाट उत्पादन गर्न सक्छौं ।’ दाहालले भने ।

    ६ दिनको लोड रिजेक्सन र तीनदिनको रिलायबिलिटी टेस्ट गरेपछि नियमित उत्पादन थालिने बताइएको छ । दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा भ्रष्टाचार भएको आशंका गर्दै लेखा समितिले काम रोक्न निर्देशन दिएको थियो । जसका कारण एक वर्ष निर्माण रोकिन पुगेको थियो ।

    सन् २०१५ को फेब्रुअरी १० देखि बन्द सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट सुरु भएको थियो । आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

    स्रोत:अन्नपूर्ण पोस्ट