मेवाखोला हाइड्रोपावरको बत्ती दसैँपछि मात्र

    1068

    खोटाङः जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ । असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए पनि वर्षा र पहिरोका कारण दसैँपछिका लागि धकेलिएको हो ।

    आयोजनाको प्रवद्र्धक साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले लगातारको वर्षापछि झरेको पहिरोले हाइड्रोपावरको ५५ मिटर क्यानल भत्काएको, मेसिन ‘टेस्टिङ’ र ‘कमिसनिङ’का लागि झिकाइएका चिनियाँ विज्ञको टोलीलाई निर्माणस्थलसम्ममा पुर्याउन नसक्दा काठमाडौँबाटै फिर्ता पठाउनुपरेको लगायतका कारण बत्ती बाल्ने योजना केही समयपछि धकेलिएको जानकारी दिए ।

    समुदाय र बैंकको करिब २१ करोड ५० लाख रुपैयाँको लगानीमा पूरा हुने हाइड्रोपावरबाट उत्पादित बत्तीलाई नेपाल विद्युत् प्राधिकरणको बुइपास्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम मात्र बाँकी रहेको प्रबन्ध निर्देशक राईले जानकारी दिए ।

    निःशुल्क जग्गा दिने पाँचजनालाई सम्मान 

    जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ । ६१औँ प्रहरी दिवसको अवसर पारेर बिहीबार कार्यालयले प्रहरी चौकी भण्डारेघाट बतासे र प्रहरी चौकी दोर्पाचिउरीडाँडालाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो ।

    प्रहरी चौकी भण्डारेघाटलाई निःशुल्क जग्गा दिने स्थानीय श्यामलाल श्रेष्ठ, दानबहादुर भुजेल र रत्नबहादुर भुजेल तथा प्रहरी चौकी दोर्पाचिउरीडाँडालाई निःशुल्क जग्गा प्रदान गर्ने इन्द्रमायाँ कठेत र दुर्गानारायण श्रेष्ठलाई सम्मान गरिएको हो ।

    स्रोत : कारोबार