अर्थमन्त्री पौडेलले व्यवसायीसँग भने ‘विद्युतीय गाडी उत्पादन थाल्नुस्, नीतिगत रूपमा संरक्षण दिन्छु’

1327

काठमाडौं । सात संसदीय नाडा प्रतिनिधिमण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच बुधबार अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा उक्त प्रतिनिधिहरुले छलफल गरेका हुन् ।

नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका समस्याहरुमा प्रकाश पारे ।

नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गर्दा ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा मन्त्रीलाई जानकारी दिए ।

नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुमा छलफल गरेका थिए ।

अर्थमन्त्री पौडेलले नेपालमा विद्युतीय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोबाइल व्यवसायीहरुले नेपाल मै विद्युतीय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफूले गरी दिने बताए ।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी तथा आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया उपस्थित थिए ।

क्यापिटल नेपाल