यो वर्ष लोडसेडिङ नहुनेमा विद्युत् प्राधिकरण ढुक्क, बुधबार ४० मेगावाट थप हुँदै

    1149

    नदीको जलासय घटेर विद्युत् उत्पादनमा केही कमी आए पनि पछिल्लो समयमा माग पनि नबढेपछि लोडसेडिङ व्यवस्थापन हुनेमा प्राधिकरण ढुक्क भएको हो ।

    मध्ये माघमा पनि माग व्यवस्थापन गरेका कारण अब लोडसेडिङ नहुनेमा ढुक्क हुने अवस्था आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । उनले फागुनमा संकट भए पनि लोडसेडिङ नहुने निश्चित भएको उनले बताए ।

    उनका अनुसार प्रणालीमा अझै ३९९ मेगावाट बिजुली अपुग छ । काठमाडौं उपत्यका लोडसेडिङमुक्त भइसकेको छ भने बाहिर पनि दैनिक २ घण्टा र उद्योगमा ४ घण्टा मात्र लोडसेडिङ भइरहेको छ ।

    लोडसेडिङ आधारभूत रुपमा हटेपछि विद्युत् प्राधिकरण व्यवस्थापन चुहावट नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । प्राधिकरणको चुहावट २५ प्रतिशत बढी छ ।
    अहिले बिजुलीको माग घटेर १ हजार २६५ मेगावाटमा सीमित भएको छ । आपूर्ति भारतबाट समेत गरी ८६६ मेगावाट भइरहेको छ । भारतबाट मात्रै ३५५ मेगावाट बिजुली आयात भइरहेको छ ।
    विद्युत प्राधिकरणका आयोजनाबाट ३३४ मेगावाट, निजी क्षेत्रबाट १७५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । राजधानीमा बिजुलीको माग साँझ (पिक आवर) मा ३२० मेगावाट छ ।
    यो आर्थिक वर्षमा ९७ मेगावाटका ५ ठुला आयोजना सम्पन्न भई प्रणालीमा जोडिएको छ । सबै आयोजना नदीका बहावमा आधारित भएकाले सुख्खामा औसत ४० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ ।

    यो वर्ष १५ आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली जोडिँदै छ ।

    १ सातापछि ४० मेगावाट आयात हुँदै
    विद्युत प्राधिकरणले भारतबाट थप ४० मेगावाट बिजुली आयात गर्दैछ । आउँदो बुधबारदेखि थप ४० मेगावाट थप्न लागेको हो । यो समेत गरी भारतबाट मात्र ३९५ मेगावाट पुग्नेछ ।

    यो वर्ष भारतबाट ५६० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी थियो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट यो वर्ष ८० थप गरी १६० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना थियो ।

    ८० मध्ये गत पुस १७ गते ४० मेगावाट आयात भइसकेको छ भने थप ४० माघ १९ गतेदेखि आयात हुनेछ । यो वर्ष ४० मेगावाटपछि भारतबाट बिजुली आयात नहुने अधिकारी बताउँछन् ।

    स्रोत:बाह्रखरी