नेपालीको प्रणालीमा ३४.७६ प्रतिशत भारतीय विद्युत

    1314
    काठमाडौं । जलविद्युत आयोजनाको निर्माण हुन नसक्दा नेपालको आन्तरिक माग पूरा गर्न विद्युतमा पनि भारतमाथिकै निर्भरता बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार,आर्थिक वर्ष २०७३÷७४मा आपूर्ति भएको ऊर्जामध्येबाट भारतबाट ३४.७६ प्रतिशत आयात भएको हो ।
    गत आर्थिक वर्षमा अधिकतम ३७० मेगावाट विद्युत भारतबाट आयात भएको थियो । प्राधिकरणको राष्ट्रिय ग्रिड प्रणालीमा आव ०७२।७३मा ५,०७७.१४ गिगावाट आवर विद्युत आपूर्ति भएकोमा आव ०७३।७४मा २३.२५ प्रतिशतले बढेर ६,२५७.७३ गिगावाट आवर पुगेको छ ।
    प्रणालीमा प्राप्त कूल ऊर्जामध्ये प्राधिकरणको उत्पादनको ३६.८४ प्रतिशत, भारतबाट आयात ३४.७६ प्रतिशत र निजी क्षेत्रबाट २८.४० प्रतिशत हिस्सा रहेको प्राधिकरणले जनाएको छ । आव २०७२।७३मा भारतबाट १७७७.६८ गिगावाट आवर ऊर्जा आयात गरिएको थियो । आव ०७३।७४मा २२.३५ प्रतिशतले बढेर २१७५.०४ गिगावाट आवर पुगेको प्राधिकरणको तथ्याङक छ । भारतबाट आव ०७३।७४मा ढल्केबर–मुजफफ्पुर क्रस बोर्डर प्रसारण लाइन र अन्यबाट समेत गरी औसतमा करिव २५० मेगावाट विद्युत आयात भएको छ । यस बापत करिव १६ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
    पेट्रोलियम पदार्थमा पूर्णरुपमा भारतमा निर्भर रहेको नेपाल अव विद्युतमा पनि भारतमै भर पर्नु पर्ने तितो अथार्थता छ । भारतबाट खरिद गर्ने विद्युतको औसत दर प्रति युनिट ७.३६ रुपैयाँ छ ।
    अघिल्लो आव ०७२।७३मा प्रतियुनिट ७.९१ रुपैयाँ थियो । प्राधिकरणले ढल्केवर–मुजफफ्पुर क्रस बोर्डर प्रसारण लाइनमार्फत विद्युत बढी ल्याउने र त्यहाँको दर सस्तो भएकाले भारतबाट आयातीत विद्युतको दर गत अघिल्लो आवको तुलनामा सस्तो देखिएको हो ।
    प्राधिकरणले नेपालका निजी क्षेत्रबाट खरिद गर्ने विद्युतको औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ छ । प्राधिकरणको औसत विद्युत खरिद दर घटेको छ भने बिक्री दर बढेको छ । आव ०७२।७३मा औसत खरिद दर प्रतियुनिट ७.५९ रहेकोमा आव ०७३÷७४मा झरेर ७.२० रुपैयाँमा सीमित भएको छ । आव ०७२।७३मा औसत विद्युत बिक्री दर प्रति युनिट ८.७३ रहेकोमा आव ०७३।७४मा बढेर ९.८५ रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत खरिदमा ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँ खर्च गरेको छ ।
     ने इ फो