ट्रान्समिसन लाईनको अभावमा जलविद्युत् आयोजनाले समस्या झेल्न पर्दैन: घिसिङ

    1354

    बेसीशहर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङमा निर्माण सम्पन्न र निर्माणाधिन अवस्थामा रहेका जलविद्युत् आयोजनाको प्रत्यक्ष निरीक्षण गरेका छन् । दुई दिनसम्म लमजुङमा रहेका घिमिङले जिल्लाको दोर्दी करिडोरका निर्माणाधीन ४ जलविद्युत् आयोजना, मस्र्याङ्दी करिडोरमा निर्माणसम्पन्न ५० मेगावाट (मेवा) क्षमताको अपर मस्र्याङ्दी ए र न्यादी खोलामा निर्माणाधीन ४० मेवाको ङादी जलविद्युत् आयोजनाको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।

    निरीक्षण पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले ट्रान्समिसन लाईन अभावमा जलविद्युत् आयोजनाले अब समस्या झेल्नु नपर्ने बताए । प्राधिकरणले निर्माण गर्दै गरेको २ सय २० केभी ट्रान्समिसनले १६ सय मेवासम्मको पावर धान्ने र यो लाईन मनाङ–भरतपुर हुँदै मार्कीचोक–काठमाडौंसम्म निर्माण हुने भएकाले हिमालदेखि तराईसम्मको समस्या दूर हुने बताए ।

    प्राधिकरणले निर्माण गर्दै गरेको २ सय २० केभी ट्रान्समिसन लाइन एकदेखि डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । यता जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न हुनैलाग्दा पनि ट्रान्समिसन लाईन निर्माणको काम शुरू नहुँदा लमजुङका अधिकाङ्श जलविद्युत् आयोजनाका प्रबद्र्धकहरू चिन्तामा परेका छन् । राष्ट्रिय प्रसारण लाईन समयमै नबन्दा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भएर उत्पादित विद्युत खेर जाने सम्भावना रहेको छ ।

    हाल दोर्दी करिडोरमा निर्माण भईरहेको २५ मेवा क्षमताको दोर्दी ए जलविद्युत् आयोजना र २७ मेवा क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेका छन् ।

    लमजुङमा साना–ठूला जलविद्युत् आयोजना गरी १ सय ३८ दशमलव १८३ मेवा विद्युत् उत्पादन हुँदै आएको छ । ६ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिरहेका छन् भने, ५ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    -अभियान