पहिलोपटक जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता

    1468

    पहिलोपटक जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता

    कारोबार संवाददाता
    काठमाडांै, १७ जेठ

    नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक जलाशययुक्त आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

    बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १४० मेगावाटको तनहुँ सेती जलविद्युत् आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडसँग पीपीए गर्ने निर्णय गरेको हो । हाल ६० मेगावाटको कुलेखानी प्रथम र ३२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजनामात्र निर्माण भएको छ भने १४ मेगावाटको कुलेखानी तेस्रो निर्माणाधीन छ । यी तीनवटै आयोजना प्राधिकरणले बनाएकाले पीपीए गर्नु नपर्ने भए पनि प्राधिकरणले सहायक कम्पनीमार्फत बनाएको तनहुँसँग भने पीपीए भएको हो ।

    विद्युत् प्राधिकरणले पहिलो पटक हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र वर्षामा प्रतियुनिट ७.१० रुपैयाँमा तनहुँ हाइड्रो कम्पनीसँग पीपीए सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “यदि हिउँदमा ३५ प्रतिशतभन्दा कम विद्युत् उत्पादन भएमा यसलाई पिकिङ आरओआर (अर्धजलाशय) रूपमा परिणत गर्ने तथा वर्षामा ५० प्रतिशभन्दा बढी उत्पादन भएमा पीपीए घट्ने गरी सम्झौता भएको छ,” उनले भने, “वर्षामा ५० प्रतिशभन्दा बढी उत्पादन भएमा प्रतियुनिट ६.०८ रुपैयाँ हुनेछ ।” ८ प्रतिशत रेटर्न अफ इक्वेटी रहेको आयोजनाबाट ६५ प्रतिशत वर्षामा विद्युत् उत्पादन हुने लक्ष्य छ ।

    विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोले निर्माण गरिरहेको आयोजनाको पीपीए सञ्चालक समितिले स्वीकृति गरेको र अब कम्पनीलाई बोलाएर प्राधिकरण पीपीएमा सम्झौता गर्छ । एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) लगायतको ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।

    स्रोत:कारोबार