विद्युत् विकास विभाग : ११७ लाई अनुमतिपत्र

    1182

    काठमाडौं । विद्युत् विकास विभागले चालू आर्थिक वर्ष (आव)को ५ महीनामा १ सय १७ ओटा परियोजनालाई लाइसेन्स (अनुमतिपत्र) जारी गरेको छ । विद्युत् उत्पादनसँग सम्बन्धित सर्वेक्षण, निर्माण तथा प्रसारण गरी उक्त परिमाणमा अनुमतिपत्र दिइएको हो ।

    यसमध्ये सबैभन्दा बढी जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि ९२ ओटा परियोजनाले अनुमतिपत्र प्राप्त गरेका छन् । उक्त आयोजनाहरूको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ४ सय १५ दशमलव ८४ मेगावाट रहेको छ ।

    त्यसैगरी कुल ४ सय १० दशमलव ५५ मेगावाट विद्युत् उत्पादनका लागि १० ओटा परियोजनाले निर्माणको अनुमतिपत्र पाएका छन् । उक्त अनुमति प्राप्त गर्नेहरूमा १ दशमलव ४७ मेगावाटदेखि २ सय १६ मेगावाटसम्मका आयोजना रहेका छन् । विद्युत् विकासका लागि सरकारले लिएको इनर्जी मिक्सको अवधारणाका कारण पनि पछिल्लो समय वैकल्पिक ऊर्जा उत्पादनमा चासो बढ्दै गएको छ । परिणामतः यस अवधिमा ४ सोलार, ३ वायु र १ बायोमास परियोजनाले पनि सर्वेक्षणका लागि अनुमति लिएका छन् ।

    विद्युत् प्रसारणतर्फ यस अवधिमा ७ ओटा परियोजनाले प्रसारण लाइन निर्माणको अनुमति पाएका छन् । यसअन्तर्गत ४ सय किलोभोल्टको एक, १ सय ३२ किलोभोल्टका दुई, ६६ किलो भोल्टको एक र ३३ किलोभोल्टका तीन परियोजना रहेका छन् । उक्त परियोजनाहरूमार्फत कुल २ सय १६ दशमलव ६१ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । ७ मध्ये ३ प्रसारण परियोजनाका लागि निजीक्षेत्र र ४ परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति प्राप्त गरेको छ । यसमध्ये सबैभन्दा बढी क्षमता ४ सय किलोभोल्टको तामाकोशी–काठमाडौं प्रसारण लाइन रहेको छ ।

    त्यसैगरी वैकल्पिक विद्युत्तर्फ सोलार उत्पादनका लागि सर्वेक्षण गर्न चारओटा अनुमतिपत्र जारी भएका छन् । यसको कुल विद्युत् उत्पादन क्षमता १७ दशमलव ९९ मेगावाट रहेको छ । त्यसैगरी कुल ५ मेगावाट विद्युत् उत्पादन गर्न वायु ऊर्जाको सर्वेक्षणका लागि तीनओटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । त्यसैगरी बायोमासतर्फ मोरङ जिल्लामा नगरपालिकाको फोहोरबाट २ मेगावाट विद्युत् निकाल्ने गरी सर्वेक्षण अनुमतिपत्र जारी भएको छ ।

    अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको अनुमतिपत्र प्राप्त गर्नेे सङ्ख्या लगभग दोब्बर हो । अघिल्लो वर्षको यही अवधिमा कुल ६३ ओटा अनुमति पत्र जारी भएका थिए । यसमध्ये जलविद्युत् उत्पादनका लागि सर्वेक्षण गर्न २१ ओटा र आयोजना निर्माण गर्न १५ ओटा अनुमतिपत्र जारी भएका थिए । त्यसैगरी प्रसारण लाइन निर्माणतर्फ २ ओटा र सौर्य ऊर्जाको सर्वेक्षणका लागि २५ ओटा अनुमतिपत्र दिइएका थिए ।

    अघिल्लो वर्षको तुलनामा विद्युत्को विकासका क्षेत्रमा भएको अनुमतिपत्र प्रदान गर्ने दरमा आएको यो वृद्धिले देशमा यस क्षेत्रमा गतिविधि बढेको स्पष्ट देखाएको छ ।

    – आर्थिक अभियान