चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणले गति लिँदै

    1221

    रसुवाको गोल्जुङमा निर्माण हुन लागेको विद्युत् सबस्टेसनका लागि अधिग्रहणमा परेका जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । गोल्जुङ– २ मा निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिने प्रभावित क्षेत्रका ६ घरधुरीलाई  मुआब्जा वितरण गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले जानकारी दिए । उनले भने, ‘सबस्टेसन निर्माणका लागि ६ जना जग्गाधनीले मुआब्जा पाउने हुन्, उनीहरूलाई १० करोड ७ लाख ५०  हजार ९ सय ३७ रुपैयाँ ५० पैसा रकम वितरण गरिसकेका छौँ ।’ मुआब्जा पाउनेहरूले प्रतिरोपनी १९ लाख २० हजारदेखि २० लाख रुपैयाँसम्म मुआब्जा पाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । आयोजनाका लागि ८० रोपनी जग्गा आवश्यक पर्छ, जसमा स्थानीयको ५० रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । बाँकी भने चिलिमे जलविद्युत् कम्पनी र साङजेन जलविद्युत् आयोजनाको जग्गा रहने भएको छ ।

    चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाका प्रमुख केदार सिलवालका अनुसार मुआब्जा वितरण भएसँगै जग्गाधनीबाट आफूहरूले लालपुर्जा लिई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । रसुवाको गोल्जुङमा सबस्टेसन निर्माण गरिने आयोजनामा अहिले स्थलगत सर्वेक्षण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख सिलवालले बताए । भूकम्पअघि नै स्थलगत सर्वेक्षण भए पनि भूकम्पका कारण टावर राख्ने स्थान पहिरोले क्षति पुर्‍याएपछि दोहोरो सर्वेक्षण गर्नुपरेको थियो ।  सिलवालले भने, ‘मुआब्जा वितरण कार्य सकिएसँगै सबस्टेसन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेका छौँ, प्रसारण लाइन निर्माणका लागि अबको २ दिनमा सर्भेको काम पनि सकिन्छ ।’ सबस्टेसन निर्माणका लागि अहिले टेन्डर डकुमेन्ट्री बनाउने कार्य अघि बढेको बताइएको छ । सिलवालले भने, ‘अहिले बोलपत्र आह्वानलगायतका काम तीव्र गतिमा भइरहेको छ । अबको एक महिनाभित्र ठेकेदार छनोेटका लागि बोलपत्र आह्वान गरिसक्छौँ ।’ असार ०७४ भित्रमा ठेकेदारमार्फत प्रसारण लाइन र सबस्टेसन निर्माणको काम सुरु गर्ने उनले जानकारी दिए । अब चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण तीव्र गतिमा हुने पनि उनले बताए ।

    दुई वर्षभित्र निर्माण सम्पन्न हुने प्रसारण लाइन गोल्जुङ, गत्लाङ, हाकु, ठुलोगाउँ हुँदै नुवाकोटको मनकामनास्थित त्रिशूली थ्री बी हबमा गएर जोडिने आयोजनाका प्रमुख केदार सिलवालले बताए । २६.५ किलोमिटर रहेको प्रसारण लाइनका लागि करिब ७५ वटा टावर निर्माण गर्नुपर्नेछ । आयोजनाका प्रमुख सिलवालले भने, ‘एउटा टावर राख्न करिब ४ आना जग्गा आवश्यक पर्छ ।’आर्थिक वर्ष ०७५/७६ मा प्रसारण लाइनको निर्माण सक्ने लक्ष्य राखिएको छ । सबस्टेसन र प्रसारण लाइन नबनेमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र माथिल्लो सान्जेनलगायतका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था कायमै छ । यसअघि प्रसारण लाइन निर्माण सम्पन्न हुने हो कि होइन भन्ने आशंकाको बीचमा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुँदै आएको थियो ।

    स्रोत:नयाँपत्रीका