जलविद्युत् क्षमता ८५ हजार मेगावाट

    1543

    काठमाडौंः जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता ८४ हजार ९ सय मेगावाट रहेको देखाएको छ । सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरी गरिएको अध्ययनले नेपालको उत्पादन क्षमता ८५ हजार मेगावाट मात्रै देखाएको हो ।

    झन्डै ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता रहेको उल्लेख गरेपछि यसैलाई आधिकारिक मानिंदै आएको छ । त्यसयता विस्तृत अध्ययन हालसम्म भएको थिएन ।

    यसअघि प्राज्ञिक आधारमा विश्लेषण गर्दै नेपालको जलविद्युत् क्षमता १ लाख ५० हजार मेगावाटभन्दा बढी हुनसक्ने प्रारम्भिक प्रतिवेदन यही परामर्शदाताले दिएको थियो ।
    परामर्शदाताले उपलब्ध गराएको अन्तरिम प्रतिवेदनमा ‘क्यू ४०’ प्रणालीका आधारमा ८४ हजार ९ सय मेगावाट देखिएको आयोगका सहसचिव समीररत्न शाक्यले जानकारी दिए ।

    “परामर्शदाताले अन्तरिम प्रतिवेदन दिएको छ, प्रतिवेदनबारे आयोग सचिवालयले थप प्रतिक्रिया दिनेछ, त्यसको आधारमा अन्तिम प्रतिवेदन तयार हुन्छ,” उनले भने, “कुल पानीको क्षमताको आधारमा यो तथ्यांक दिए पनि त्यसलाई वास्तविक उत्पादन क्षमताको आधारमा विश्लेषण गर्दा फरक पनि पर्न सक्छ ।”

    १० नदी वेसिनलाई आधार मानेर तयार पारिएको प्रतिवेदनमा सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशीमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ६२ मेगावाट रहेको छ ।

    यस्तै, गण्डकीमा २४ हजार १ सय ३५, कर्णालीमा २५ हजार ४ सय ६६, महाकालीमा ३ हजार २१, वागमतीमा १ हजार ४३, राप्तीमा ९ सय ९९, बबईमा ४ सय ४६, कन्काईमा ४ सय ११, कमलामा २ सय ५५, तिनाउमा १ सय ५८ र बर्कैयामा ९४ मेगावाट उत्पादन क्षमता देखिएको छ ।

    नेपाल र भारत दुवै देशका साझा आयोजनाको रुपमा अघि बढेका कर्णाली चिसापानी, पञ्चेश्वर लगायतका आयोजनाको भने आधा क्षमतालाई मात्र प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    कुल जलविद्युत् उत्पादन क्षमता श्रेष्ठको शोधपत्रसँग मिल्दोजुल्दो देखिए पनि व्यावसायिक रुपमा उत्पादन क्षमता भने ५० हजार मेगावाट नाघ्ने प्रारम्भिक अध्ययनले देखाएको छ । २०७४ असारसम्ममा नेपालको कुल र व्यावसायिक क्षमताबारे स्पष्ट प्रतिवेदन आउने आयोगले जनाएको छ ।

    उत्पादन क्षमता
    नदी वेसिन                    क्षमता (मेगावाट) 
    कोशी                             २८८१० 
    गण्डकी                         २४१३५
    कर्णाली                         २५४६६
    महाकाली                         ३०२१
    वागमती                         १०४३
    राप्ती                             ९९९
    बबई                             ४४६
    कन्काई                        ४११
    कमला                        २५५
    तिनाउ                         १५८
    बर्कैया                            ९४
    मेची                            ६२ 

    स्रोतः जल तथा ऊर्जा आयोग

    स्रोत:कारोबार दैनिक