कुलमान घिसिङलाई कांग्रेस निकट कर्मचारीको असहयोग, सरुवाको रमाना नलिन सर्कुलर जारी

    1070

    काठमाडौं । नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्न थालेको छ ।
    प्राधिकरण व्यवस्थापनले सुरु गरेको चुहावट नियन्त्रण अभियानलाई असहयोग गर्न संघले आफूनिकट कर्मचारीलाई अपिल गरेको छ ।

    उल्टो मिटर घुमाएर कमिसन खाने गरेको आरोपमा केही कर्मचारी पक्राउ परेपछि कर्मचारी संघले सरुवाको रमाना नलिन मंगलबार सर्कुलर जारी गरेको छ । संघका अध्यक्ष जनार्दन भट्टराईले एक अपिल सार्वजनिक गर्दै रमाना नलिन भनेका छन् ।

    व्यवस्थापनले रमाना बुझाएमा यसको प्रतिकार गर्न अपिल गरिएको छ । संघका अध्यक्ष भट्टराईद्वारा हस्ताक्षरित अपिलमा अर्को निर्णय नहुन्जेलसम्म रमाना नबुझ्न अनुरोध गरेको छ ।
    उल्टो मिटर घुमाएर कमिसन खाने कर्मचारी पक्राउ परेपछि प्राधिकरण व्यवस्थापनले वितरण तथा ग्राहक सेवा निर्देशनालयका ५ तहसम्मका कर्मचारीलाई सरुवा गरेको थियो ।

    उल्टो मिटर घुमाएर कमिसन खाएको आरोपमा १५ कर्मचारी प्रहरी हिरासतमा छन् । यस्तै पक्राउ परेर प्रहरी हिरासतमा भएका संघका कोषाध्यक्ष मनोज श्रेष्ठलाई संघले कोषाध्यक्षबाट अझैसम्म हटाएको छैन ।
    विद्युत् प्राधिकरण व्यवस्थापनले वितरण तथा ग्राहक सेवामा कार्यरत २ हजार ४८० जना कर्मचारी सरुवा गरेको हो । वितरण तथा ग्राहक निर्देशनालयमा कार्यरत ५ तहसम्मका सबै कर्मचारी सरुवा गरेको हो ।

    प्राधिकरणमा सबैभन्दा बढी कर्मचारी यो निर्देशनालयमा कार्यरत छन् ।
    केही कर्मचारीले गलत मिटर रिडिङ गरेर आर्थिक लाभ लिएको पत्ता लागेपछि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका सबै मिटर रिडरको सरुवा गरेको हो ।

    प्राधिकरणमा एकैपटक ठुलो संख्यामा कर्मचारी सरुवा गरेको पहिलो पटक हो । ठुला उद्योगको मिटर उल्टो घुमाएर लाखौं रुपैयाँ राजश्व चुहावट गरेको पत्ता लागेको छ ।

    अझै १ सय कर्मचारी शंकाको घेरामा 
    चुहावट नियन्त्रणका लागि प्राधिकरणले सुरु गरेको ‘स्टिङ अपरेशन’का क्रममा ९ तहका ३४ कर्मचारीमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो । यस्तै ८ र ७ तहका अतिरिक्त अन्य तल्लो तहका गरी झण्डै १ सय कर्मचारी अनुसन्धानको घेरामा रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले अहिले विशेष अनुसन्धान गरिरहेको स्रोतले बतायो । सबैभन्दा बढी हेटौंडा वितरण केन्द्रका कर्मचारी परेको स्रोतको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशकले ३ साताभित्र नयाँ घटना सार्वजनिक हुने बताइसकेका छन् ।

    स्रोत:बाह्रखरी