‘गोरु बत्ती’ अलपत्र

    1039

    काठमाडौंः छिमेकी राष्ट्र भारतमा गोरुबाट बिजुली निकाल्ने (बुल पावर) योजनाले चर्चा पाइरहँदा नेपालमा भने नौ वर्षअघि नै केही युवाले यही प्रविधिबाट बिजुली निकाल्न गरेको प्रयास अधुरो बनेको छ ।

    बाराको बारागढी गाउँपालिका–१ घर भई हाल पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका उपप्रशिक्षक रहेका रमेश चौधरीले ‘गोरु बत्ती’को नाममा ०६५ साल चैत ९ गते उद्योग मन्त्रालयमा मौलिक अधिकार सुरक्षित (प्याटन्ट राइट) का लागि निवेदन दिएका थिए ।

    गोरु, राँगा, गाई, साँढे, खच्चड, गधालगायत घरपालुवा जनावरको उपयोग गरेर विद्युत् शक्ति उत्पादन गर्न उनले योजना अघि बढाएका थिए । दुई हजार रुपैयाँ तिरेर प्याटन्ट अधिकार सुरक्षित गरे पनि बिजुली उत्पादन गर्ने उनको योजना अझै अधुरो छ ।

    “घरपालुवा जनावर उपयोग गरेर बिजुली निकाल्ने र विकट गाउँमा बिजुली बाल्ने योजना अघि सारेर प्याटन्ट राइट पनि लिएको थिएँ । विशेषगरी गोरु दाइँ गरेर बिजुली निकाल्ने योजना थियो । तर, अन्य निकायबाट उचित सहयोग नपाउँदा र विदेशबाट आयातित सोलारको डोमिनेट बढ्दा समस्या भयो,” उनले सुनाए । उनका अनुसार गोरुबाट दाइँ गरेर बिजुली निकाल्ने भनेर प्याटन्ट अधिकार सुरक्षित गर्न जाँदा उद्योग विभागका कर्मचारीसमेत हाँसेका थिए ।

    छिमेकी राष्ट्र भारतमा स्वामी रामदेव तथा आचार्य बालकृष्णको समूहले तीन घण्टामा गोरु दाइँ गरेर २.५ किलोवाट बिजुली निकाल्न सकिने भन्दै अनुसन्धान गरिरहेका छन् । यता नेपालमा चौधरीलगायतले आफ्नै खर्चमा गरेको अध्ययनले भने एक हल गोरुलाई तीन घण्टा दाइँ गर्दा तीन घरलाई टेलिभिजनसहित बत्ती आवश्यक पर्ने बिजुली उत्पादन हुने निष्कर्ष निकालेको थियो ।

    गोरुलाई दाइँ गर्दा विद्युत्को भोल्टेज कम नहुने गरी गोरुको गति बढाउन मिल्ने गरी प्रविधि विस्तार गर्ने अध्ययनले देखाएको थियो । ०५९÷०६० सालमा चौधरीलगायत पारस पौडेल तथा सुरज कार्कीले यसबारे ललितपुरका विभिन्न गाउँ पुगेर अध्ययन गरेका थिए ।

    त्यतिबेला इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक भक्तबहादुर आलेले घाँसपात, रुखबिरुवा, जनावरलगायतबाट मेकानिकल पावर उत्पादनका लागि अध्ययन गर्न भनेपछि उनीहरूले यसबारे अध्ययन अघि बढाएका थिए ।

    त्यसको सम्भावना देखिए पनि अघि बढाउन नसकिएको चौधरी गुनासो गर्छन् । “त्यो बेला वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थानलगायतलाई पनि यसबारे जानकारी दिएको थिएँ । सस्तोमा सोलार आएपछि यो अघि बढेन, व्यक्तिगत रूपमा अघि बढाउन पनि कठिन थियो,” उनले भने ।

    साधारण र नेपाली मौलिक किसिमको प्रविधिको रूपमा रहेको एउटा उपकरण उपयोग गर्ने तथा यसमा एउटा डाइनामो (डीसी उत्पादन गर्ने यन्त्र) अथवा एउटा जेनेरेटर (एसी उत्पादन गर्ने यन्त्र) वा दुवै उपयोग गरेर बिजुली निकाल्ने योजना बनेको ‘गोरु बत्ती’ योजनामा उल्लेख थियो ।
    ग्रामीण क्षेत्रमा यो प्रविधि उपयोगी हुने उनी बताउँछन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार अझै करिब ३० प्रतिशत नेपाली विद्युतको पहुँचबाट वञ्चित छन् ।

     स्रोत: कारोबार