मोलुङ जलविद्युत् अन्तिम चरणमा

    1708
    • आगामी असोजभित्रै सञ्चालनको तयारी
    • वर्षामा ७ र हिउँदमा ४ मेगावाट विद्युत् उत्पादन क्षमता

    श्रावण ११, २०७४-

    मोलुङ गाउँपालिकामा बन्दै गरेको ७ मेगावाटको मोलुङखोला जलविद्युत् निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त हाइड्रोपावर आयोजनाको ९२ प्रतिशत निर्माण सकिएको र बाँकी काम पूरा गरी आगामी असोजभित्रै सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

    यो आयोजना जिल्लाकै पहिलो जलविद्युत् आयोजना हो। हिजोआज तीव्र गतिमा निर्माण कार्य भइरहेको छ। ‘अब आठ प्रतिशत मात्र काम बाँकी छ। बाँकी काम पनि छिट्टै सकिनेछ,’ साइट इन्चार्ज दशरथ डंगोलले भने, ‘हाम्रो लक्ष्य भदौभित्रै सक्ने हो। असोजभित्र सञ्चालनमा आउँछ।’ उनले टर्वाइन जोड्ने कामसमेत सकिन लागेको र कन्ट्रोल रुमको केही काम बाँकी रहेको बताए। उनले ती काम यही महिनामा सकिने जनाए। ड्यामसाइटदेखि २ हजार १ सय मिटर पाइपमध्ये करिब १ सय मिटर मात्र जोड्न बाँकी छ। पावरहाउससमेत निर्माणको अन्तिम चरणमा पुगेको उनले जनाए।

    मोलुङ हाइड्रोपावर सम्पन्न भएपछि ओखलढुंगा लोडसेडिङमुक्त बन्ने आशामा जिल्लावासी छन्। तर, हाइड्रोपावर निर्माण भए पनि सदरमुकाममा निर्माणाधीन सबस्टेसन समयमै नबन्ने हो कि भन्ने डरमा कम्पनी रहेको छ।

    विद्युत् प्राधिकरणले सबस्टेसन निर्माणका लागि ठेकेदार कम्पनी हुलास स्टिललाई ताकेता गरेपछि उसले मोलुङ हाइड्रो निर्माण हुने बेलासम्ममा सक्ने प्रतिबद्धता गरेको छ। एनएमबी बैंकलगायतको १ सय ४० करोड रुपैयाँ लगानीमा हाइड्रोपावर निर्माण भइरहेको हो। निर्माण भइसकेपछि वर्षामा ७ मेगावाट र हिउँदमा ४ मेगावाटसम्म विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

    स्रोत:कान्तिपुर