नलसिंहगाडमा भ्रष्टाचार भएको महालेखाको ठहर

    1168

    धेरै रकम प्रस्ताव गर्ने स्मेकलाई परामर्शदाता चयन गरिँदा राज्यलाई अतिरिक्त भार बढाएको महालेखाको ठहर

    नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा राज्यलाई २४ करोड ११ लाख रुपैयाँ अतिरिक्त दायित्व थपिएको छ । ४ सय १० मेगावाटको आयोजनाको परामर्शदाता छनोटका क्रममा संयुक्त मूल्यांकनका आधारमा सामान्य अंक बढी प्राप्त गर्ने कम्पनी छनोट गरको भन्दै त्यसमा राज्यलाई दायित्व बढेको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको हो ।

    आयोजनाको परामर्शदाता छनोटको अन्तिम प्रतिस्पर्धामा स्मेक इन्टरनेसनल र एएफसी–एचसिइएनइएसएस थिए । प्रतिस्पर्धाका क्रममा स्मेकले ८१.९९४ अंक र एएफसी–एचसिइएनइएसएसले ८१.५०१ अंक प्राप्त गरेको भए पनि स्मेकले धेरै रकम प्रस्ताव गरेको थियो ।

    स्मेकले १ अर्ब ९ करोड र एएफसी–एचसिइएनइएसएसले ८४ करोड ८९ लाख रुपैयाँ प्रस्ताव गरेको र धेरै रकम प्रस्ताव गर्ने स्मेकलाई परामर्शदाता चयन गरी राज्यलाई अतिरिक्त भार बढाएको महालेखाले ठहर गरेको हो ।

    विशेष अदालतमा पहिले नै मुद्दा
    आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग आयोगले आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । परामर्शदाता छनोट प्रतिस्पर्धामा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले २० चैतमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    अख्तियारले कुँवरसहित तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजकुमार थापा र स्मेकका आधिकारिक प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध १३ करोड ६२ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैदको मागदाबी गरेको छ ।

    लेखा समितिको छुट्टै अनुसन्धान
    नलसिंहगाडको परामर्शदाता छनोटमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ । लेखा समितिले सांसद मीना पुनको संयोजकत्वमा छानबिन समिति नै बनाएर त्यसको अध्ययन गरिरहेको छ ।

    स्रोत:नयाँपत्रीका