बेगनास–रूपा पम्प स्टोरेज आयोजना अघि बढाउने तयारी

    1175

    नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक पम्प जलाशययुक्त आयोजना (पम्प स्टोरेज प्रोजेक्ट) अघि बढाउन अध्ययन थालेको छ । कास्कीको बेगनास तालमा १ सय ५० देखि ३ सय मेगावाटसम्मको पम्प जलाशययुक्त आयोजना अघि बढाउन प्राधिकरणले अध्ययन थालेको हो । बेगनासको पानी रूपा तालमा झारेर धेरै बत्ती चाहिने समय (पिक आवर)मा विद्युत् उत्पादन गर्ने र राति फेरि बेगनासमा नै पम्प गरेर फर्काउने योजना बनाइएको हो । माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन सुरु भएपछि पनि पिक आवरमा विद्युत् अभाव हुने भन्दै प्राधिकरणले यस्तो आयोजना अघि बढाउने सोच बनाएको तनहुँ हाइड्रो पावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए ।

    प्राधिकरणले साँझको चार घन्टा यो आयोजनाबाट विद्युत् उत्पादन गर्ने र राति फेरि पानी माथि तान्ने योजना बनाएको थिकेले बताए । ‘बेलुकीको समयमा विद्युत् अभाव हुने भएकाले त्यस समयमा यो आयोजनाबाट विद्युत् उत्पादन गर्ने र राति खेर जाने विद्युत् उपयोग गरेर पानी माथि पम्प गर्ने योजना बनाइएको हो,’ उनले भने । बेगनास र रूपा तालसम्म सडक पहुँचको समस्या नभएको र त्यहाँ उत्पादित आयोजना राष्ट्रिय प्रणालीमा जोड्न पनि नजिक भएकाले अघि बढाउन सकिनेमा प्राधिकरण विश्वस्त छ । यो आयोजना अघि बढाउन सके नेपालकै पहिलो पम्प स्टोरेज आयोजना हुनेछ । चिलिमे जलविद्युत् कम्पनीले पनि केही समयअघि यस्तै पम्प स्टोरेज आयोजना अघि बढाउने योजना सार्वजनिक गरेको थियो । तर, त्यो अघि बढाउन भने सकेको छैन ।

    जाइकाको सहयोगमा विस्तृत अध्ययन हुने

    प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)को सहयोगमा अध्ययन गर्ने योजना प्राधिकरणले बनाएको छ । आयोजनाको लागत, उत्पादन हुने विद्युत्लगायतका विषय त्यसपछि मात्रै टुंगिनेछ । विस्तृत अध्ययनका लागि एक वर्ष लाग्ने र त्यसको चार वर्षमा विद्युत् उत्पादन गर्ने तयारी प्राधिकरणले गरेको छ । यो आयोजना अघि बढाउँदा साँझको केही समय बेगनास तालमा एकदेखि डेढ मिटर पानीको सतह घट्ने अनुमान गरिएको छ । तर, राति नै पम्प गरेर पानी माथि तानिने भएकाले वातावरण र तालको सौन्दर्यमा कुनै फरक नपर्ने थिकेले बताए ।

    प्राकृतिक तालको उपयोग

    पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रूपा तालबीच ५७ मिटरको दूरी छ । बेगनासको तल्लो भागमा रूपा ताल पर्ने भएकाले माथिल्लो तालको पानी तल्लो तालमा खसाल्ने योजना बनाइएको हो । प्राकृतिक रूपमा ठूलो ताल भएकाले आयोजना अघि बढाउन सम्भव नहुने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावरका सञ्चालक थिकेसहितको प्राविधिक टोली लिएर आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गर्न लगाएका थिए । यसअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्रा. डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो ।

    खेर जाने विद्युत्ले पम्प गर्ने

    ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि रातिको समयमा विद्युत् खेर जानेछ । अहिले सञ्चालनमा रहेका अधिकांश आयोजना पनि नदी प्रवाहमा आधारित (आरओआर) भएकाले तिनीहरूको विद्युत् खपत हुँदैन । यसरी रूपामा खसालिएको पानी बेगनासमा फर्काउन करिब २ सय मेगावाट विद्युत् खपत हुने अनुमान प्राधिकरणको छ । पिक आवरबाहेक सामान्य समयमा विद्युत् पर्याप्त हुने भएकाले यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।

    स्रोत:नयाँपत्रीका