नेपालको जलविद्युत आयोजना समयमै पूरा हुने चिनियाँ कम्पनीको भनाइ

    1313

    राष्ट्रिय गौरवका आयोजनामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न कुनै कठिनाइ नपर्ने धारणा चाइना गेजुवा ग्रुप (जीसीजीसी)की कार्यकारी उपसभापति मा यिनयिनले बताउनुभएको छ। बेइजिङस्थित जीसीजीसीको मुख्यालयमा नेपाली पत्रकार टोलीसित गरिएको अन्तर्क्रियामा खर्च जुटाउनेसम्बन्धी प्रश्नको उत्तर दिँदै उहाँले अर्जेन्टिना, अंगोला, पाकिस्तान आदि देशमा ठूला, ठूला जलविद्युत् क्षेत्रतर्फ कम्पनीले हासिल गरेको आर्थिक एवं प्राविधिक अनुभव यस क्षेत्रमा पनि उपयोगी हुने बताउनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

    उहाँका अनुसार अर्जेन्टिनामा छ अर्ब अमेरिकी डलर बराबरको जलविद्युत् आयोजना र नाइजेरियामा पनि सोही लागतको जलविद्युत् आयोजना पाइपलाइनमा रहेका छन्। बूढीगण्डकी जलविद्युत् आयोजनाको अनुमानित लागत २.५ अर्ब अमेरिकी डलर मात्र भएकाले यो आयोजनाको खर्च जुटाउन कुनै अप्ठेरो पर्ने छैन।

    सरकारले एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको बूढीगण्डकी आयोजनाको निर्माण कार्यका लागि सीजीजीसीसित सहमति गरेको छ। चमेलिया जलविद्युत् आयोजना तथा माथिल्लो त्रिशूली जलविद्युत् आयोजना जस्तै बूढीगण्डकीको काम पनि ढिलो हुने र लागत खर्च ह्वात्तै बढ्ने हो कि भन्ने आशङ्का रहेकाले त्यसलाई चिर्न के कस्ता रणनीति अँगालिनेछ भनी गरिएको प्रश्नको उत्तरमा सीजीजीसी तथा नेपाल सरकारबीच भएको सम्झौता अनुसार समयसीमा ननाघ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    चमेलिया जलविद्युत् आयोजना ढिलाइ हुनुमा ठेकेदार तथा प्राकृतिक विपत्ति कारण रहेको तर यही सन् २०१७ भित्रै सम्पन्न गर्नेतर्फ सक्रियता रहेको जानकारी दिइयो।

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको काम ठेकेदार तथा भूकम्प तथा डिजाइन परिवर्तन गरिएकाले ढिला भएको बताउँदै तर यो आयोजना पनि सन् २०१९ भित्रै सम्पन्न हुने दाबी गर्नुभयो।

    सन् २०१६ मा गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल प्रालि खडा गरी नेपालमा लगानीका लागि दैलो खोलेको सीजीजीसीले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ कार्यक्रममा पनि अनेक तवरबाट सघाउने भएको छ। ठूला अर्थतन्त्र भएका छिमेकी भारत तथा चीनबीच नेपालले यस कार्यक्रममा सहभागी भई सेतुको भूमिका निर्वाह गर्नसक्ने विश्वास गेजुवाका अधिकारीले राखेका छन्।

    नेपाल–चीनबीचको मैत्री सम्बन्धलाई थप उचाइमा पुर्याउन नेपालको पूर्वाधार विकासका विविध क्षेत्रमा काम गर्नका लागि आफ्नो कम्पनी इच्छुक रहेको धारणा पनि सो अवसरमा व्यक्त गरियो। गेजुवा कम्पनी चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनी हो। यसले देश–विदेशमा आफ्नो कार्यक्षेत्र बढाउँदै लगेको छ।

    दक्षिण अमेरिका, अफ्रिका, एसिया आदि क्षेत्रमा काम गर्दै आएको गेजुवाले ठूला जलविद्युत् आयोजना, अग्ला ठूला भवन, रेलमार्ग, विमानस्थल, जलाधार संरक्षण, नवीकरणीय ऊर्जा आदि क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभएको छ।

    Source: CRI