‘बिजुली ल्याइदिनेलाई भोट’

    1632

    भाद्र २०, २०७४- जनकपुर १, धरमवान टोलका मुसहर र डोम समुदायको घरअगाडि बिजुलीको पोल छ । तर, बिजुली बल्दैन । मिटर पनि छैन । जग्गाको लालपुर्जा नहुँदा उनीहरूले बत्ती बाल्न नपाएका हुन् । छिमेकीको घर उज्यालिँदा मुहसरका लालबाला अँध्यारोमै हुन्छन् । यो समुदायले आसन्न स्थानीय तह चुनावमा प्रमुख मुद्दा बत्तीलाई नै बनाएको छ ।

    बत्ती बालिदिने, बाढीले भत्किएको छाप्रो मर्मत गर्ने र सडकमा ग्राभेल गरिदिनेलाई भोट हाल्ने योजना उनीहरूले बुनिरहेका छन् । ‘हामी अनपढ छौं,’ स्थानीय उर्मिला मल्लिकले भनिन्, ‘गरिबको दु:खमा साथ दिनेलाई नेता बनाउँछौं ।’ सरकारी सुविधा सहज तरिकाले उपलब्ध गराउनेलाई भोट दिने ३० वर्षीया सिवितादेवी सदा बताउँछिन् । चर्को घाम र वर्षा हुँदा स्थानीय छिमेकीको घरमा सुत्न जान्छन् । दुई साताअघि बाढीले घर भत्काएपछि यस्तो अवस्था आएको हो ।

    ‘गरिबको दु:ख कस्तो हुन्छ, कापीका पानामा टिपेर बुझ्नुहुन्न,’ सविताले मल्लिकले भनिन्, ‘हामीलाई खानेबस्ने मात्रै समस्या छैन । घरअघि बत्तीको पोल छ तर घरमा बिजुली बल्दैन । छेवैमा ठूला घर भएका बोर्डिङ स्कुल छन् तर हाम्रा छोराछोरीले पढ्न पाएका छैनन् ।’ रातदिनको मजदुरीबाट भएको आम्दानीले साँझबिहानको छाक टार्नै ठिक्क हुने उनले सुनाइन् । ‘बाढीले घर भत्काएपछि बनाउन सकिएको छैन,’ उनले भनिन्, ‘मजदुरी गरी घर फर्किंदा थकाइ मार्न नसक्दा जिउ फतक्कै गल्छ ।’

    सडकपेटीमा बनाएको छाप्रो बढीले ढलाएपछि धरमवान टोलकी सरस्वती सदा चिन्तित बनेकी छन् । नगरबाट उपमहागरपालिका भयो । अब महानगरपालिका बन्दै छ । तर, धरमवान टोलका मुसहर र डोमको जीवन उस्तै छ । घर अगाडिको सडकबाट झन्डा फर्फराउँदै गुडेका जिपले हिलो र धूलो घरभित्रै पुर्‍याउँछन् । ‘हरेक चुनावमा भोट हाल्दै आयौं । काम गर्छु भन्ने नेताहरू फर्केर आएनन्,’ सदाले भनिन् ।

    स्रोत:कान्तिपुर