‘लोडसेडिङ’ अब मात्र चार महिनाको चुनौती

    1124

    सर्वप्रथम म अहिले हाम्रो प्रणालीमा विद्युतको माग र आपूर्तिको विषयमा जानकारी गराउन चाहन्छु । काठमाडौं र पोखरामा लोडसेडिङ नभएको पहिला नै जानकारी गराइसकेका छौँ ।

    अस्ति हामीले भारतबाट थप ४० मेगावाट बिजुली आयात गरेका छौँ । त्यसलाई हामीले काठमाडौंमा ल्याउन सकेका छैनौँ । ढल्केवरदेखि हेटौँडासम्मको केही लोडलाई हामीले आयातबाट दिएका छौँ ।

    पूर्वको लोडसेडिङ
    पूर्वमा करिबकरिब लोडसेडिङ छैन । उद्योगमा ४ घण्टाबाहेक पूर्वमा लोडसेडिङ गरेका छैनौँ । कहिलेकाहीँ प्रणालीमा असन्तुलन हुँदा हामीले कतैकतै १ घण्टासम्म विद्युत कटौती गरेका छौँ ।

    समग्रमा आधारभूत रुपमा पूर्वमा लोडसेडिङ छैन । पूर्वमा त्यत्ति समस्या छैन । लोड असन्तुलन तराईका केही केन्द्रीय क्षेत्रमा भएको हो । हेटौँडा पश्चिम र नारायणघाटसम्म सन्तुलन मिलाउँदा भोल्टेजको पनि समस्या छ । यता ढल्केवरमा सबस्टेशनलाई समायोजन गर्दैछौँ ।

    सबस्टेशनको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ ।
    खिम्ती ढल्केवर प्रसारणलाइन यो हप्ताभित्र चार्ज गर्दैछौँ । खिम्तीको ब्रेकरमा समस्या आएकाले केही ढिला भएको हो । कुलेखानी–स्युचाटार–मातातीर्थसम्मको लाइन चार्ज भइसकेको छ ।

    मातातीर्थबाट स्युचाटारको काम अघि बढाउनका लागि लाइनमुनी पर्ने घर भत्काउने काम भइरहेको छ ।  खिम्ती ढल्केवर र कुलेखानी स्युचाटारको प्रसारणलाइन भएपछि काठमाडौं उपत्यका जोड्ने प्रसारणको समस्या हुँदैन । त्यसपछि काठमाडौंको माग व्यवस्थापन गर्न सहज हुनेछ ।
    पश्चिमको लोडसेडिङ
    पश्चिममा केही स्थानीय समस्याले गर्दा पनि लोडसेडिङ २–३ घण्टासम्म भएको छ । पश्चिममा पनि एक साताभित्र महेन्द्रनगरदेखि धनगढी क्षेत्रसम्म लोडसेडिङ हटाउन लागेका छौँ । यसका लागि प्रणाली व्यवस्थापन गर्दैछौँ ।

    बुटवल क्षेत्रमा लोडसेडिङ १ दिनको अन्तरालमा डेढ घण्टासम्म छ । त्यहाँको उद्योगमा ४ घण्टा लोडसेडिङ छ  । भोल्टेजको समस्याले गर्दा केही लोडसेडिङ भएको हो ।

    त्यहाँको प्रणालीलाई मिलाउन हामी लागिरहेका छौँ । पूरै प्रणाली ‘सिन्क्रोनाइज्ड’ नभएकाले ‘आइसोलेसन’ प्रणालीलाई सञ्चालन गर्दा कुन लोडलाई कता राख्ने भन्नेजस्ता व्यवस्थापन मिलाउने काम भइरहेको छ ।
    महेन्द्रनगरदेखि कोहलपुरसम्मको प्रसारणलाइनको काम अघि बढिरहेको छ ।

    अन्य ठाउँमा धेरै राम्रो काम भएको छ । महेन्द्रनगर आपूर्ति गर्न भोल्टेजको समस्या यो लाइनले समाधान गर्ने छ । रक्सौल परावनीपुर र कुसाह कटैयाको प्रसारणलाइन अघि बढेको छ । जनवरीभित्र सकिने अवस्था छ ।

    ‘पिकआवर’को माग सन्तुलन गर्ने प्रयास
    समग्रमा लोडसेडिङको कुरा गर्दा अस्तिको जे अवस्था हो आज पनि त्यही अवस्थामा प्रणाली सञ्चालन भइरहेको छ । बिजुलीको माग बढी हुने (पीक आवर) मा भारतबाट ३४० मेगावाटको हारहारीमा माग गरेका छौँ । आपूर्ति ‘पिकआवर’मा झण्डै ६ सय मेगावाट गरिरहेका छौँ । हामीले ‘पिकिङ’ मिलाइरहेका छौँ ।

    कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी  विद्युतगृहबाट अलिकति बिहान समायोजन गर्नुपर्ने छ । बेलुका कालीगण्डकीबाट केही घण्टा १४४ मेगावाटमा सञ्चालन गर्नका लागि बिहान उद्योगको मागलाई सामायोजन गरेको हो । त्यसो भएकाले बेलुकाको ‘पिकआवर’को माग सन्तुलन गर्न हामी सबै खाले प्रयास गरिरहेका छौँ ।

    प्रणालीमा औसत ४ सय मेगावाट भएपनि ‘पिकिङ’बाट समायोजन गरी बेलुका ६ सय मेगावाट बिजुली आन्तरिक उत्पादनबाट आपूर्ति गरेका छौँ ।
    यस्तै उत्पादनतर्फ हेवाखोल ‘ए’ आयोजनाको बिजुली पनि प्रणालीमा जोडिँदै छ । करिब ७ मेगावाटको हाराहारीमा बिजुली जोडिने छ । एउटा ‘सबस्टेशन’ चार्जमा छ ।

    एकदुई दिनमा चार्ज हुन्छ होला । काबेली करिडोरलाई पनि यो आर्थिक वर्षमा सम्पन्न गर्दैैछौँ । प्रसारणलाइनको काम हामी प्राथमिकताका साथ अघि बढाउँदै छौँ ।

    चुहावट नियन्त्रण अभियान
    निजी क्षेत्रसँग १ हजार १ सय मेगावाटको  ‘टेक एन्ड पे’ को अवस्था थियो । यो हट्ने अवस्थाबाट उनीहरूलाई सहज हुनेछ । चुहावटको अवस्थामा सुधार आएको छ । समग्रमा २ प्रतिशतसम्म चुहावट घटाउन सफल भएका छौँ ।

    हामीले देशव्यापी रुपमा नै चुहावट नियन्त्रण अभियान सुरु गरेका छौँ ।
    यो वर्षको लक्ष्य पूरा हुने अवस्थामा छौँ । प्राधिकरणबाट गर्नुपर्ने उज्यालो नेपाल अभियान अन्तर्गत लोडसेडिङ न्यून गर्नुपर्ने कामलाई निरन्तरता दिएका छौँ । आउँदो जेठपछिको अवस्था धेरै सहज हुने छ ।

    त्यसबेला ९ सय बढी मेगावाट हाम्रो उत्पादन हुने छ । त्यसपछि लोडसेडिङ गर्नुपर्दैन । यही ४ महिनामात्र हामीलाई लोडसेडिङ हटाउन केही चुनौती छ ।

    आयोजनाको प्रगति राम्रो
    आयोजनाको कुरा गर्दा चमेलियाको प्रगति राम्रो छ । कुलेखानीको पनि काम अघि बढेको छ । इलेक्ट्रोमेकानिकलको काम पनि सुरु भइरहेको छ । यस्तै माथिल्लो त्रिशुली ३ ‘ए’ आयोजनाको पनि कागजी काम सकिएको छ ।

    अन्य काम पनि भइरहेको छ । चीनको एक्जिम बैंकको कर्जाको म्याद थप्ने काम पनि अघि बढेको छ ।
    (प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोमबार पत्रकार सम्मेलनका क्रममा राखेका धारणाको मूख्य अंशः)

    स्रोत:बाह्रखरी