‘नेपालको पानी, जनताको लगानी’ मा पहिलो दिन २६ करोडको प्रतिबद्धता, कसरी भर्ने अनलाइन फर्म ?

    1376

    काठमाडौं । सरकारले जलविद्युत्मा लगानी गर्नका लागि अनलाइन आवेदन खोलेको पहिलो दिनमै झण्डै २६ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    अनलाइन आवेदन खोलेको पहिलो दिन सोमबार राति ८ बजेसम्ममा विदेशमा रहेका नेपालीबाट व्यक्तिगत तथा संस्थागत गरी यो रकम बराबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार अनलाइन लगानी खुलेको दिन ४ हजार ६४३ जनाले २४ करोड ६२ लाख ६३ हजार रुपैयाँ जलविद्युतमा लगानीको प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै, संस्थागत रूपमा ३ वटा कम्पनीले अनलाइन आवेदनमार्फत १ करोड ११ लाख २५ हजार रुपैयाँबराबारको लगानी प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    ऊर्जामन्त्री जनार्दन शर्माले अघि सारेको नेपालको पानी जनताको लगानीअन्तर्गत सोमबारदेखि अनलाइन लगानी प्रतिबद्धता खुला गरेका थिए । मन्त्री शर्माले विदेशमा बस्ने नेपालीले लगानी गर्नका लागि अनुरोध गरेपछि अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरिएको बताए ।

    मन्त्री शर्माले हिजो सोमबार पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रूपमा अनलाइन लगानी प्रतिबद्धता माग गरेका थिए । अनलाइनमार्फत लगानी गर्न पाउने भएकाले जलविद्युत्मा सेयर हाल्नका लागि अब लाइन बस्नु नपर्ने भएको छ । जलविद्युतको सेयर खुल्दा दिनभरि लाइन बस्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।

    अनलाइन लगानीको व्यवस्थाअन्तर्गत संसारका कुनै पनि ठाउँमा भएका नेपालीले माथिल्लो अरुण, दूधकोशी, तमोर र सुनकोसी ३ लगायत थुप्रै जलविद्युत् आयोजनामा लगानी गर्न पाउनेछन् । यस्तै आयोजनामा गैरआवासीय नेपाली, आम नागरिक, निजामति र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न पाउने मन्त्री शर्माले स्पष्ट पारेका छन् । जलविद्युतमा थप लगानी जुटाउन यस्तो प्रयास गरेको मन्त्री शर्माको भनाइ छ ।

    कसरी भर्ने अनलाइन फर्म ?
    ऊर्जा मन्त्रालयको वेबसाइट एमओइएन डट जिओभी डट एनपी http://moen.gov.np/ वा ऊर्जामन्त्री जनार्दन शर्माको वेबसाइट जनार्दन शर्मा डटकम www.janardansharma.com मा जानुपर्छ । दुवै वेबसाइटमा नेपालको पानी जनताको लगानी भन्ने स्लट देखिन्छ । यसमा क्लिक गरेपछि आवेदन फर्म भर्ने ठाउँ आउँछ । नयाँ प्रयोगकर्ताले नयाँ एकाउन्ट बनाउनुपर्छ ।

    एकाउन्ट बनाएपछि तपाईंको ईमेलमा नोटिफिकेसन आउँछ । त्यसपछि सेयर लगानीको फर्म भर्न पाइन्छ । अनलाइनबाट अहिलेलाई फर्म भर्नेमात्रै हो, पैसा बुझाउनु पर्दैन । पछि ऊर्जा मन्त्रालयले सूचना निकालेपछि प्रतिबद्धता अनुसार पैसा हाल्ने हो ।