आगामी हिउँदमा लोडसेडिङ घटाउन भारतबाट ३०० मेगावाट विद्युत ल्याइँदै

    2491

    सरकारले आगामी हिउँदमा तात्त्विक रूपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ । त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदमा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत् प्राधिकरणका एक अधिकारीले दिए । अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टासम्म पुगेको थियो ।

    दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत् नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए । विद्युत् प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप बिजुली उत्पादन हुने भएको छ ।

    घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट पुग्नेछ । मुलुकमा उत्पादित र भारतबाट आयात हुने थप बिजुली गरी हिउँदयाममा १ हजार मेगावाट बिजुली आपूर्ति हुनेछ । विद्युत् प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन ।

    ‘भारतबाट लक्ष्यबमोजिम बिजुली आयात गर्न सकियो भने आगामी हिउँदमा अघिल्लोको तुलनामा तात्त्विक रूपमा लोडसेडिङ घट्नेछ,’ घिमिरेले कान्तिपुरसित भने । उनका अनुसार ढल्केबर–
    मुजफ्फरपुर प्रसारण लाइनको सबस्टेसनको क्षमता विस्तार गरी आगामी हिउँदसम्म २२० केभी क्षमताको बनाइनेछ ।

    क्षमता बढेपछि उक्त प्रसारण लाइनबाट तीन सय मेगावाट बिजुली आयात गर्न सकिनेछ । हाल उक्त प्रसारण लाइनबाट नेपालले भारतबाट जम्मा ८० मेगावाटमात्र बिजुली आयात गरिरहेको छ ।

    कटैया–कुसाहा र परवानीपुर–रक्सौल विद्युत् नाकामा प्रसारण लाइन निर्माण (सर्किटको) काम भइरहेको छ । आगामी हिउँदसम्म दुवै ठाउँको काम सम्पन्न गर्ने लक्ष्य विद्युत् प्राधिकरणको छ । ती विद्युत् नाका हुँदै भारतबाट ५०/५० मेगावाट बिजुली आयात गरिनेछ ।

    ‘हाल भारतबाट विभिन्न विद्युत् नाकाबाट २ सय ८० देखि ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेका छौं,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अब तीन ठाउँबाट ३ सय मेगावाट थपेर आगामी हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली ल्याउनेछौं ।’

    हिउँदयाममा मुलुकभित्र मुस्किलले ४ सय मेगावाट बिजुली (हिउँदयाममा मात्र चलाइने १ सय ४ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजनाको विद्युतसहित) उत्पादन हुनेछ । हाल मुलुकको विद्युत् प्रणालीमा वर्षायाममा ७ सय ६७ मेगावाटमात्र बिजुली उत्पादन हुनेछ ।

    सहसचिव घिमिरेका अनुसार आगामी हिउँदसम्म विदेशी तथा स्वदेशी निजी क्षेत्रबाट निर्माणाधीन ६ वटा आयोजना निर्माण सम्पन्न भई १ सय ५ मेगावाट बिजुली उत्पादन हुनेछ । चिनियाँ कम्पनी सिनो हाइड्रोको ५० मेगावाटको अप्पर मस्र्याङ्दी ए जलविद्युत् आयोजना अबको दुई महिनामै सम्पन्न भई बिजुली उत्पादन सुरु हुनेछ ।

    आगामी हिउँदसम्ममा सम्पन्न भई बिजुली उत्पादन सुरु गर्ने स्वदेशी निजी क्षेत्रबाट निर्माणाधीन ५ आयोजनामा २२ मेगावाटको चाकु, १५ मेगावाटको हेवा, १० मेगावाटको माई क्यास्केट, ६ मेगावाटको तुमुङ–ठोस्ने र २ मेगावाटको छ्याङी छन् । यीमध्ये हेवा र छ्याङी आयोजनाले निर्माण सम्पन्न भई परिक्षण उत्पादन सुरु गरिसकेका छन् ।

    सरकारले प्राधिकरणमार्फत निर्माण गरिरहेका दुई आयोजना ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानीको निर्माण आगामी हिउँदसम्म निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु हुने जानकारी घिमिरेले दिए । कुलेखानी तेस्रो कुलेखानी जलाशययुक्त आयोजनाको दोस्रो क्यास्केट आयोजना हो ।

    कुलेखानी पहिलोबाट ६० मेगावाट उत्पादन हुन्छ, त्यसबाट निस्कने पानी लगेर बनाइएको कुलेखानी दोस्रो अर्थात् क्यास्केट आयोजनाबाट ३२ मेगावाट बिजुली उत्पादन हुन्छ ।

    कुलेखानी दोस्रोमा बिजुली उत्पादन भइसकेपछि निस्कने पानी लगेर कुलेखानी तेस्रो अर्थात् दोस्रो क्यास्केट आयोजनाबाट १४ मेगावाट बिजुली उत्पादन गर्ने अन्तिम तयारी प्राधिकरणको छ । आगामी हिउँददेखि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु भएपछि कुलेखानी जलाशययुक्त आयोजनाको कुल क्षमता १ सय ६ मेगावाट पुग्नेछ ।

    स्रोत : कान्तिपुर