बूढीगण्डकीका लागि ११ अर्ब संकलन

    1483

    काठमाडौंः नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न इन्धन बिक्रीबाटै झन्डै ११ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले १३ महिनाभित्र डिजेल, पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले सो रकम संकलन गरेको हो ।

    सरकारले प्रत्येक महिना भन्सार बिन्दुबाट उपभोक्तालाई अतिरिक्त असर नपर्ने गरी रकम संकलन गर्दै आएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि १५ असारसम्म १० अर्ब ६६ करोड रुपैयाँ संकलन गरिसकेको जानकारी दिए ।

    “उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार नाकामा संकलन गरिएको रकम सरकारको खातामा जम्मा भएको छ,” उनले भने, “गत आर्थिक वर्षमा १ अर्ब १६ करोड र चालू आर्थिक वर्षको १५ असारसम्म १० अर्ब ६६ करोड संकलन भएको छ ।”

    सरकारले गत आर्थिक वर्षको बजेट भाषणमा ७ अर्ब रुपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोहीअनुसार निगमले १३ महिनामै लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएको हो । निगमले प्रत्येक महिनामा इन्धनबाट ७० देखि ८० करोडका दरले रकम संकलन गर्दै आएको छ ।

    १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न प्रत्येक महिना भन्सार नाकाबाट रकम संकलन गरिँदै आएको छ । बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनिए पनि हालै सरकारले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको छ ।

    इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्याक्ट विथ फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले जिम्मा पाएको छ ।

    बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनीका कम्पनीलाई दिए पनि प्रभावितलाई मुआब्जा वितरण गर्न बाँकी रहेकाले इन्धनबाट शुल्क संकलन गरिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    यसअघि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले उपभोक्ताबाट संकलित रकम खर्च नगरिएको भन्दै जुन शीर्षकका लागि संकलन हो सोही शीर्षकमा खर्च गर्न निर्देशन दिएको थियो ।

    स्रोत:कारोबार