बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

    1046

    नेपाल र भारतले संयुक्त रुपमा नयाँ बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएका छन् ।

    अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रुपमा अगाडि बढाउन सहमती भएको हो । कुल ४ सय किलोभोल्ट क्षमताको सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने र निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ ।

    नेपालले हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत कुल ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । विद्युत् माग बढी भएका क्षेत्रलाई सहज रुपमा ऊर्जा उपलब्ध गराउने लक्ष्यका साथ न्यू बुटवल गोरखपुर प्रसारण लाइनलाई प्राथमिकतामा राखिएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दिनेशकुमार घिमिरेले उक्त प्रसारण लाइनको डिपिआर आगामी डिसेम्बरसम्म तयार हुने बताए ।

    ‘डिपिआर तयार भएपछि मात्र लागतबारे थाहा हुन्छ,’ उनले भने । प्राधिकरणको बुटवलमा रहेको सवस्टेशनपूर्व रोहिणीखोला नजिक अर्को सवस्टेशन बनाउने र भारतबाट विद्युत् आयात गर्ने सरकारको तयारी छ । बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका स्थानमा उत्पादन हुने विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् ।

    सन् २०२२ सम्म नेपालले भारतबाट कुल एक हजार मेगावाट विद्युत् आयात गर्ने र सो अवधिपछि नेपालबाट करीब दुई हजार विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ । दुवै मुलुकले आ–आफ्नो तर्फको प्रसारण लाइन निर्माण गर्ने ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहमति भएको प्रवक्ता घिमिरेले बताए । यही असार १३ र १४ गते भारतमा सम्पन्न संयुक्त बैठकले समेत प्रसारण लाइन निर्माणको विषयमा महत्वपूर्ण निर्णय गरेको सन्दर्भमा न्यू बुटवल गोरखपुर प्रसारण लाइन निर्माणले गति लिने विश्वास गरिएको छ । यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रियालाई चाँडो सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती दुवै प्रसारण लाइनबाट थप ५०/५० मेगावट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न तत्काल भारतबाट आवश्यक मात्रामा विद्युत् आयात गरिनेछ । भारत सरकारको अनुदानमा निर्माणाधीन कुशाहा–कटैया एवम् रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनबाट पूर्ण क्षमतामा विद्युत् डिसेम्बरसम्म ल्याउने मन्त्रालयको तयारी छ ।

    मुलुकभित्र उत्पादन हुने विद्युत् आन्तरिक खपतबाट बढी भएको अवस्थामा निकासी गर्नेतर्फ पनि विशेष जोड दिइएको छ । प्रवक्ता घिमिरेले सबै उपाय अवलम्बन गरेर ऊर्जा सङ्कट समाधान गर्ने लक्ष्य राखिएको बताए ।

    रासस