More then 5 billion, NEA equipment damaged

    1652

    साढे ५ अर्ब बढीको उपकरण क्षति

    Damage_Earthquakeकाठमाडौं-नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार १४ दिनअघि गएको विनाशकारी भूकम्पका कारण साढे ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरका हजारौं उपकरणमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आइनसकेकाले यो संख्या थप बढ्ने उसको आँकलन छ।
    भूकम्पले ‘पावर’ ट्रान्सफर्मर, वितरण ट्रान्सफर्मर, पोल, कन्डक्टर (प्रसारण लाइन/तार), ‘इनर्जी’ मिटरलगायत उपकरणमा अधिक क्षति पुर्यााएको छ। पूर्ण विवरण आउँदासम्म क्षतिको रकम दशौं अर्ब रुपैयाँ नाघ्न सक्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए।
    ‘यो भूकम्प जानासाथ निकालिएको प्राम्भिक आँकडा मात्र हो, केही ठाउँमा क्षति भएका उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिन्छ, तर क्षतिको अवस्था नहेरी केही भन्न सकिन्न,’ उनले नागरिकसँग भने, ‘दर्जनौं ठाउँमा हजारौं वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ, क्षेत्रीय कार्यालय र वितरण केन्द्रबाट तिनको थप विवरण संकलन भइरहेको छ।’
    सरकारले भूकम्पबाट गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखालगात १५ जिल्लामा उच्च क्षति पुगेको निचोड निकाल्दै ती जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। विद्युतीय उपकरण पनि अन्यको तुलनामा तिनै जिल्लामा बढी क्षति भएको पाण्डेयले बताए। उनकाअनुसार अधिकांश क्षेत्रमा ट्रान्सफर्मर, मिटर, तार र पोल नोक्सान भएका छन्।
    प्राधिकरणका अनुससार भूकम्पबाट १५ देखि ५०० केभिएसम्मका करिब २ हजार वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ। प्रारम्भिक अध्ययनका आधारमा प्राधिकरणले खरिख गर्ने यसको मूल्यमात्र झन्डै ५३ करोड रुपैयाँ हुन्छ। यस्तै, विभिन्न सबस्टेसनमा २० करोड रुपैयाँबराबरका १० वटा पावर ट्रान्सफर्मर बिग्रेका छन्।
    देशभर वितरण सबस्टेसन, तार, पोललगायत अर्बौं रुपैयाँबराबरका महत्वपूर्ण उपकरणमा क्षति भए पनि प्राधिकरणले तत्काल कर्मचारी परिचालन गरेर सेवा सुचारु गरेको थियो। क्षति पुगेका देशका अधिकांश क्षेत्रमा शनिबारसम्म विद्युत सेवा सुचारु भइसकेको पाण्डेयले दाबी गरे।
    ‘ट्रान्सफर्मर पूर्णरुपमा जलेका, गाउँगाउँमा बिग्रेका र भत्केका पोल तथा फिडरको विस्तृत अध्ययनपछि मात्र सेवा सुचारु गर्न सकिन्छ,’ उनले भने, ‘विद्युत सेवा पुर्यािउने भन्दै हतारमा सेवा प्रवाह गरियो भने करेन्ट लागेर अर्को दुर्घटना हुन सक्छ।’ गाउँ, बस्ती र सडकछेउ असरल्ल तार छोडेर मृत्यु निम्त्याएको भन्दै प्राधिकरणले आरोप खेप्दै आएको छ।
    ‘जथाभावी लत्रेका तार व्यवस्थित नगरेर दुर्घटना घटाएको भन्दै आरोप लाग्ने गरेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘गोरखा, रसुवा, नुवाकोटलगायत जिल्लामा धेरै जनधनको नोक्सान भएको छ, त्यहाँको अवस्था अध्ययन गरेरमात्र मानवीय दुर्घटना नहुने निश्चित भएपछि मात्र सेवा सुचारु हुन्छ।’
    सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखालगायत केही जिल्लामा विद्युतगृहमै क्षति पुगेकाले त्यसको मर्मत नगर्दासम्म पूर्णरुपमा सेवा सुचारु गर्न गाह्रो हुने उनले बताए। भूकम्प प्रभावित क्षेत्रमा कर्मचारी परिचालन गरेर स्थानीय अवस्था र उपकरण क्षतिको विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
    पछिल्लो आँकडाअनुसार ६० हजार स्टिल पोल, ३ लाख ३२ हजार सेट निर्माण उपकरण (लाइन मेटरियल), करिब २ हजार सेट वितरण प्यानल बोर्ड, ९ हजार किलोमिटर सर्विस केबल, १० हजार पावर ट्रान्सफर्मरमा क्षति पुगेको छ। उक्त उपकरण वर्तमान बजार मूल्य अर्थात प्राधिकरणले खरिद गर्ने मूल्यको आधारमा करिब ५ अर्ब ४० करोड रुपैयाँ हुन आउँछ।
    यसैगरी, सिंगल फेज मिटर ३ लाख, ‘थ्रि’ फेज मिटर १० हजार, ११ केभीको ‘थ्री कोर’ पावर केबल १ हजार ७ सय ५० किलोमिटर, ३३केभी सिंगल कोर पावर केबल २ सय किलोमिटर समेत क्षति भएको छ। विभिन्न सबस्टेसन र वितरण केन्द्रमा राखिएका करोडौं मूल्यका २ सय बढी क्रेन र ३० हजार लिटर ट्रान्सफर्मर तेल नष्ट भएका छन्।
    ट्रान्सफर्मर, मिटर र तारको अभाव झेल्दै आएको प्राधिकरणले अब झन चर्को अभाव हुने प्राधिकरण प्राविधिक बताउँछन्। प्राधिकरणलाई अहिले नै ४ हजार बढी ट्रान्सफर्मरको खाँचो छ। भूकम्पले २ हजारमा क्षति पुगेपछि ६ हजार बढी ट्रान्सफर्मरको संकट देखिने भएको छ। यसले अर्को विद्युत संकट निम्तिने खतरा उत्पन्न भएको छ।
    स्रोत: नागरिक