वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले पायो हरित कोषको सदस्यता

1532

१६ फागुन, काठमाडौं । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र हरित जलवायु कोष (ग्रीन क्लाइमेट फण्ड)को सदस्यता प्राप्त गर्ने पहिलो नेपाली निकाय बनेको छ ।

राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धी अन्तरगत रहेर अनुकुलन र कार्बन उत्सर्जन न्यूनिकरण गर्न सहयोग पुर्‍याउने परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गर्न कोष को स्थापना सन् २०१० मा भएको थियो ।

कोषको बिहीबार बसेको २२औं बोर्ड बैठकले वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रलाई एक्रेडिटेड इन्टिटीको रूपमा स्वागत गरेको हो ।

‘वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले अब कोषको रकम प्रयोग गर्न प्रस्ताव तयार पार्न सक्ने छ’, राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिका नेपाल फोकल पर्सन तथा वातावरण मन्त्रालयका सह सचिव महेश्वर ढकालले अनलाइनखबरलाई बताए ।

यो कार्य हालसम्म राष्ट्रसंघीय विकास कार्यक्रम र आइयूसीएन जस्ता कोषबाट मान्यता प्राप्त राष्ट्रिय संस्थाहरूले मात्रै गर्दै आएका थिए ।

नेपालकै अर्को गैरसरकारी निकाय प्रकृति संरक्षण कोषले पनि हरित कोषको सदस्याताका लागि आवेदन दिएको छ । उसको आवेदनमाथि भने बोर्डको अर्को बैठकमा निर्णय हुन सक्ने श्रोतले बतायो ।

अनलाइनखबर