कुलमान घिसिङलाई ३ प्रश्न

    1614

    १. नेपाल विद्युत् प्राधिकरणले लाइसेन्स लिएर अध्ययन गरिरहेका जलविद्युत् आयोजना कम्पनी मोडेलमा किन निर्माण गर्नुप-यो?

    कम्पनी मोडेलमा बनाउँदा आयोजना अगाडि बढाउने निर्णय प्रक्रिया छिटो र सहज हुने भएकाले कार्यान्वयन गर्न सजिलो हुन्छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता सरकारी स्वामित्वका निकाय र सर्वसाधारण नागरिकको लगानी सुनिश्चित गर्न कम्पनी मोडेलमा नगई आयोजना निर्माण गर्न सकिँदैन । यस्ता निकायमा रहेको अर्बौं रुपैयाँ र सर्वसाधारणलाई पनि आकर्षित गरी आन्तरिक स्रोतमा जलविद्युत् आयोजना निर्माण गर्ने हो भने कम्पनी मोडेलबाहेक अर्को विकल्प नै छैन । अर्कोतर्फ नेपाललाई सहायता उपलब्ध गराउँदै आएका विश्व बैंक, एसियाली विकास बैंकलगायतको निकायले कम्पनी मोडेलबाट आयोजना निर्माण गरिएमा लगानीका लागि कुनै समस्या नहुने बताएका छन् । कम्पनी मोडेलमा आयोजना बनाइएमा हामीलाई सहायता दिन कुनै आपत्ति नभएको उनीहरूले विश्वास दिलाएका छन् । कम्पनी मोडेलमा जाँदा ऋण लिन पनि सजिलो हुन्छ ।

    २. कम्पनी मोडेलबाट निर्माण गर्दा प्राधिकरणका कर्मचारीलाई सेयर दिने, आफ्ना आयोजना महँगोमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने गरेको भन्दै तपाईंहरूको आलोचना किन हुन्छ ?

    महँगोमा पिपिए गर्ने भन्ने सम्भावना छैन । यसका लागि हामीले प्राधिकरणको स्वामित्व रहने गरी विद्युत् व्यापार कम्पनी स्थापना गर्ने निर्णय भइसकेको छ । पिपिए लागतका आधारमा गर्ने हो । त्यसैले प्राधिकरणका आयोजनाको महँगोमा पिपिए हुन्छ भन्नु गलत हो । आयोजना अध्ययन, निर्माण, सञ्चालनलगायतमा सहभागी हुने प्राधिकरणका कर्मचारीलाई सेयर दिइयो भनेर हंगामा मच्चाउनुपर्ने आवश्यकता नै छैन ।

    ३. सीमित कर्मचारीले सेयर पाउने तर सर्वसाधारणले केही नपाउने अवस्था रहन्छ कि रहँदैन ?

    कम्पनी मोडेलमा निर्माण गरिने हरेक आयोजनामा नेपाली जनताको सेयर सुनिश्चित गरिएको छ । विपन्न वर्गलाई समेत सेयर दिने व्यवस्था गरिएको छ । आयोजनाहरू ३० प्रतिशत स्वपुँजी (इक्विटी) र ७० प्रतिशत ऋणमा बनाइन्छन् । ३० प्रतिशतको हिस्सेदार आयोजना प्रभावित क्षेत्रका बासिन्दा, प्राधिकरणका कर्मचारी, सर्वसाधारणलगायत हुन्छन् । सर्वसाधारणले लगानी गर्ने हुँदा यसको लाभ उनीहरूले पनि पाउँछन् । जसले एकातर्फ जनताको जीवनस्तरमा सुधार हुन्छ भने अर्कोतर्फ नेपालको कुल गार्हस्थ उत्पादनमा गुणात्मक प्रभाव पार्छ ।

    (घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुन्) –

    स्रोत : नयाँ पत्रिका