माथिल्लो तामाकोसीको आईपीओ असार २४ मा, न्युनतम ३० देखि १००० कित्तासम्म भर्न पाइने

    1580

    काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो ।
    पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ ।

    स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।

    यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

    तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

    -विकासन्युज