माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनामा ठूलो क्षति

    2802

    सचेन गौतम/नयाँ पत्रिका

    काठमाडौं, २३ असार

    भोटेकोसी नदीमा आएको बाढीले तातोपानीस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाँधलगायतका संरचनामा क्षति पुगेको हो । बाढीले बालुवा थिग्रयाउने पोखरी (डेसेन्डिङ बेसिन)को पर्खाल भत्काएको आयोजनाको प्रवद्र्धक कम्पनी भोटेकोसी पावरका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले बताए ।

    ‘बाढीले डिसेन्डिङ बेसिनको पर्खाल नै भत्काएको छ,’ उनले भने, ‘बाँधमा पनि ठुल्ठूला ढुंगा नदीले थुपारेको छ, नदीको बहाव बढ्दा विद्युत्गृहमा समेत पानी पसेर उपकरणमा क्षति पुर्‍याएको छ ।’ क्षतिको विवरण संकलन भइनसकेको उनले बताए । गत वर्ष १२ वैशाखको भूकप्प र त्यसपछिका परकम्पले आयोजनाको विद्युत्गृह र पेनस्टक पाइपमा क्षति पुर्‍याउँदा आयोजना सञ्चालन हुन सकिरहेको थिएन । पुनर्निर्माण भइरहेका वेला बाढीले आयोजनामा पुन: क्षति पुर्‍याएको छ । ‘असोजको दोस्रो साताभित्रमा पुनर्निर्माण सकेर विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको थियो, बाढीले ठूलो क्षति पुर्‍याएकाले सबै काम प्रभावित भएका छन्,’ प्रमुख प्रजापतिले भने, ‘मनसुन नसकिएसम्म अब काम गर्न सक्ने अवस्था नै छैन ।’ यसअघि सिन्धुपाल्चोकको जुरे पहिरोले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा पनि आयोजनाको विद्युत् उत्पादन बन्द भएको थियो ।

    जोखिममा सुनकोसी विद्युत् केन्द्र

    बाढीले नेपाल विद्युत् प्राधिकरणको १० मेगावाटको सुनकोसी विद्युत् केन्द्रको ब्यारेजआसपासमा कटान गरिरहेको छ । ‘आयोजनाका संरचना रहेको स्थानमा क्षति भएको छैन, तर बाढीले ब्यारेजआसपासमा कटौती गरिहेको छ,’ केन्द्र प्रमुख सुरज दाहालले भने, ‘आयोजनाको बाँधस्थलमा बाढीले ढुंगा ल्याएर थुपारेको छ ।’ ६.८ मेगावाटमा सञ्चालनमा भइरहेको केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ । जुरेको पहिरोले पनि केन्द्रको बाँधस्थलमा क्षति पुर्‍याएको थियो ।

    मध्यभोटेकोसीमा पनि क्षति

    बाढीले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ । आयोजनाको बाँध निर्माणस्थलतर्फ जान चाकुमा राखिएको बेलिब्रिज बाढीले बगाएको चिलिमेका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए । ‘नदीमा आएको बाढी ठेकेदारको आवासमा पनि पसेको छ, तर त्यहाा कुनै क्षति भएको छैन,’ उनले भने ।

    निरीक्षणमा गृह र वनमन्त्री गृहमन्त्री

    शक्ति बस्नेत र वनमन्त्री अग्निप्रसाद सापकोटाले समेत बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । कोदारीदेखि सुकुटेसम्मै बाढीले कटान गरेकाले बस्ती जोखिममा देखिएको मन्त्री सापकोटाले बताए । मन्त्री सापकोटाका अनुसार बाह्रबिसेको पक्की पुल पनि जोखिममा देखिएको छ । ‘पुललाई सपोर्ट दिइएन भने पुल पनि भत्कने जोखिम देखिन्छ,’ उनले भने, ‘बाह्रबिसेदेखि तातोपानीसम्म तीन स्थानमा सडक नै गायब भएको छ, नयाँ ट्रयाक नै खोल्नुपर्ने अवस्था छ ।’ निरीक्षणमा क्षेत्र नम्बर १ का सांसद मोहन बस्नेत, रमेश लामा र अमृत बोहरासमेत थिए ।

    सचेन गौतम/नयाँ पत्रिका