माथिल्लो तामाकोसीको सुरुङ डिजाइन फेर्न विज्ञको सिफारिस

    2361

    काठमाडौं, २ कात्तिक

    Upper-Tamakoshi-Access-Tunnelदोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको सुरुङको डिजाइन परिवर्तन गर्न विज्ञ समूहले सिफारिस गरेको छ ।

    मुख्य सुरुङको अन्तिम खण्ड (पेन स्टक एरिया)मा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि आयोजनाले जर्मनीका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त दुईजना विज्ञ ल्याएर अध्ययन गराएको थियो ।

    डिजाइन परिवर्तन नगरिँदा निर्माण सम्पन्न भई विद्युत्् उत्पादन सुरु भएपछि कमजोर चट्टानले पानीको दबाब थेग्न नसक्दा सुरुङबाट पानी बाहिर निस्किई पहिरो जाने र विद्युत्गृह सञ्चालनमै अवरोध आउन सक्ने चेतावनी विज्ञ समूहले दिएको छ । समूहमा जर्मनीका जियोलोजी तथा हाइड्रोलोजी विज्ञ वयनफ्रिथ राइमर र जियोटेक्निस तथा रक मेकानिक्स प्राडा इङ हेल्मअट बोक थिए ।
    विज्ञ समूहले परामर्शदाता नर कन्सल्ट एएस लाह्मेर इन्टरनेसनल जेभीको सुझाबको विस्तृत अध्ययन र सुरुङको स्थलगत निरीक्षण गरी डिजाइन ‘अनिवार्य रूपमा’ परिवर्तन गर्नुपर्ने सिफारिस गरेको हो । डिजाइन परिवर्तन गर्दा ९४ करोड रूपैयाँ थप लागत र ७ महिना थप समय लाग्ने आयोजनाले अनुमान गरेको छ ।

    आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले परामर्शदाता कम्पनीले बताए जस्तै विज्ञ समूहले पनि सुरुङ डिजाइन संशोधन अनिवार्य रहेको सिफारिस गरेको जानकारी दिए । ‘परामर्शदाताले सिफारिस गरेको सुरुङको संशोधित डिजाइन स्लोप अनिवार्य रहेको ठहर गर्दै विज्ञ समूहले पनि उक्त संशोधित डिजाइनमा तुलनात्मक रूपमा कम लागत हुने गरी केही संरचनाको लेआउटमा समायोजन गर्दै सोहीअनुसार अघि बढ्नु उत्तम प्राविधिक समाधान रहेको सिफारिस गरेको छ,’ श्रेष्ठले भने ।

    उनले परामर्शदाता र विज्ञ समूहको सिफारिसका आधारमा सुरुङ डिजाइन परिवर्तन स्वीकृतिका लागि सञ्चालक समितिमा छिट्टै प्रस्ताव पेस गरिने जानकारी दिए । ‘यसको निर्णय तिहारअघि नै हुन्छ,’ उनले भने ।

    नर्वेको प्रख्यात कम्पनी सिनटेफले पेनस्टक एरियाको चट्टान परीक्षण गरेको थियो । परीक्षण गर्दा कमजोर चट्टान रहेको फेला परेको थियो । कमजोर चट्टान फेला परेपछि मुख्य सुरुङमा खर्चिलो स्टिल लाइनिङ गर्न या समय दुवैमा बचत गर्न मुख्य सुरुङ, सर्ज स्याफ्ट तथा पेनस्टक स्याफ्टको डिजाइन संशोधन गर्नुपर्ने सिफारिस परामर्शदाता कम्पनीले गरेको थियो । पुरानै डिजाइनमा निर्माण गर्दा सुरुङको धेरै भागमा स्टिल लाइनिङ गर्दा १ अर्ब ८४ करोड रूपैयाँ र थप १५ महिना लाग्ने तर डिजाइन संशोधन गर्दा थप लागत ९४ करोड र ७ महिना मात्रै लाग्ने परामर्शदाताले सिफारिस
    गरेको थियो ।

    विज्ञ समूहले पनि लागत र समयका हिसाबले दोस्रो विकल्पमा जान उपयुक्त हुने सिफारिस गरेको छ । दोस्रो विकल्पमा जाँदा नयाँ अडिट पोर्टल पुग्न करिब ३ किलोमिटर सडक ट्रयाकलाई सुदृढीकरण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    डिजाइन परिवर्तन गर्दा मुख्य सुरुङको पेनस्टक अडिटतिर खनिसकिएको ५ यस मिटरमध्ये साढे ४ सयमा स्टिल लाइनिङ गर्नुपर्ने, ४ सय मिटर नयाँ अडिट सुरुङ बनाउनुपर्ने र सर्ज स्याफ्टको सट्टा ९ यस ४० मिटर सर्ज सुरुङ बनाउनुपर्ने परामर्शदाताको सिफारिस छ ।

    मुख्य सुरुङको भैँसे अडिटदेखि पेनस्टक अडिटसम्मको ५ किलोमिटरमध्ये साढे ३ किमि सुरुङको डिजाइन ८.३३ प्रतिशत ठाडो (स्लोपमा) रहने गरी पहिले डिजाइन तयार गरिएको थियो । तर, पेनस्टक एरियाको चट्टान कमजोर भएको पुष्टि भएपछि सुरुङको डिजाइन परिवर्तन गरी ०.३ प्रतिशत स्लोपमा बनाउन परामर्शदाताले सिफारिस गरेको छ ।

    आयोजनाको सभाव्यता अध्ययन गर्दा त्यस खण्डको सुरुङको डिजाइन ०.३ प्रतिशत नै रहने प्रस्ताव गरिएको थियो । तर, विस्तृत अध्ययनको क्रममा आयोजनाको लागत कम गर्न स्लोपलाई ८.३३ प्रतिशत बनाइएको थियो । विस्तृत अध्ययन गर्ने र अहिलेको परामर्शदाता नर्वेजियन कम्पनी नर कन्सल्ट नै हो । ‘विस्तृत डिजाइन स्वीकृत गर्दा नै स्लोपका विषयमा प्रश्न उठाइएको थियो, तर निर्माण गर्दा कुनै समस्या नआउने नर कन्सल्टले विश्वास दिलाएपछि डिजाइन स्वीकृति गरिएको थियो, विद्युत् प्राधिकरणका स्रोतले भन्यो, ‘तर अहिले समस्या देखिएको छ, यसमा नर कन्सल्टको पनि कमजोरी छ ।’

    डिजाइन परिवर्तनको कारणले पेनस्टक अडिटबाट थप सुरुङ खन्न रोकिएको छ । थप खनिएको सुरुङ पछि काम नलाग्ने हुनाले त्यस खण्डतिर मुख्य सुरुङ खन्ने काम गत २१ असारबाट रोकिएको आयोजनाले जनाएको छ । परामर्शदाताको सिफारिसअनुसार भैँसे अडिटबाट संशोधित डिजाइन स्लोपअनुसार सुरुङ खन्ने काम भने जारीे छ ।

    विद्युत्गृहमा देखिएको समस्या समाधान गर्न लागेको समय, प्राविधिक कारणले पेनस्टक स्याफ्ट निर्माणमा ठेकेदारका तर्फबाट भइरहेको ढिलाइ, सुरुङको डिजाइन संशोधनलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ हुने भएको छ । सञ्चालक समितिले कतिपय निर्णय समयमा नगरिदिँदा पनि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।

    आयोजना स्रोतका अनुसार पहिलो युनिटबाट उत्पादन गर्न करिब ७ महिना र ६ वटै युनिटबाट २ महिना ढिलाइ भई आयोजनाको निर्माणकार्य समग्रमा २/३ महिना ढिलाइ भई ०७३ को असारभित्र आयोजना सम्पन्न हुने अनुमान गरिएको छ । समयतालिका सम्बन्धमा थप विश्लेषण कार्य भइरहेको छ । यसअघि आयोजनाको निर्माण ०७२ भित्र सक्ने लक्ष्य राखिएको थियो ।

    @ सचेन गौतम/नयाँ पत्रिका