सिंगटी जलविद्युत् आयोजना निर्माण तीव्र

    1181

    ०७५ चैतभित्रै विद्युत् उत्पादन गर्ने तयारी

    दोलखाको उत्तरी गाउँ बाबरे र लामीडाँडामा निर्माणाधीन सिंगटी जलविद्युत् आयोजना निर्माण तीव्र रूपमा अगाडि बढिरहेको छ । गत असारदेखि निर्माण थालेको आयोजनाले हालसम्म २७ प्रतिशत काम सम्पन्न गरिसकेको आयोजना प्रमुख मनोहरि सापकोटाले जानकारी दिए ।

    प्रमुख सापकोटाका अनुसार जम्मा ५ हजार ६ सय मिटर लामो टनेलमध्ये अहिलेसम्म १ हजार १ सय ५० मिटर टनेल खन्ने काम सम्पन्न भइसकेको छ । ४ तहबाट टनेल निर्माण भइरहेको र दैनिक १२ मिटर टनेल निर्माण भइरहेको उनले बताए ।

    बाँध निर्माण ७५ प्रतिशत सकियो
    आयोजनाको बाँध निर्माणको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । बाबरेको सोरुङखोला दोभानमा निर्माण भइरहेको बाँधसँगै डिसेन्डिङ बेसिनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको आयोजना प्रमुख सापकोटाको भनाइ छ ।

    डिसेन्डिङ बेसिनमा एक साताअघि आएको बाढीले सामान्य क्षति पु-याएको छ । हाइड्रोमेकानिकलतर्फको कामसमेत अगाडि बढिरहेको छ । क्रिम हाइडिल प्रालि बुटवलले जिम्मेवारी पाएको हाइड्रोमेकानिकलका सामग्री नेपाल–भारतको सीमामा आइसकेको प्रमुख सापकोटाले जानकारी दिए । त्यस्तै इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अघि बढिरहेको आयोजनाले जनाएको छ । चाइनिज कम्पनी नान एलान वार्ड प्लान्टमार्फत काम भइरहेको आयोजना निर्देशक काजी लामाले बताए ।

    सुपर ६ आयोजनाअन्तर्गत निर्माण गरिँदै सिंगटी
    तत्कालीन सरकारका ऊर्जामन्त्री गोकर्ण विष्टका पालामा छोटो समयमा विद्युत् उत्पादन गर्न सक्ने सिंगटी खोला नेपाल विद्युत् प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा ‘सुपर ६’ आयोजनाअन्तर्गत पर्छ । सिंगटीले २०७५ चैत मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखेको आयोजनाका निर्देशक लामाले जानकारी दिए । सुरुमा १६ मेगावाट मात्र विद्युत् उत्पादन गर्ने भनिएको आयोजनाले थप सम्भाव्यता अध्ययन गरेपछि २५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको हो ।

    सिभिल बैंकको अगुवाइमा ११ वित्तीय संस्थाको लगानी
    आयोजनाको वित्तीय व्यवस्थापन भने सिभिल बैंकको अगुवाइमा ११ वटा बैंकले लगानी गरेका छन् । आयोजनाको ग्रेस हेड २ सय ६८ मिटरको छ । आयोजनाले हेडवक्र्स, रेडरेस सुरुङ र त्यहाँ पुग्न अडिट सुरुङ निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत भने ४ अर्ब ४० करोड छ ।

    वर्षाका कारण करोडौँ क्षति
    निर्माणाधीन आयोजनामा गत साता बाढी पस्दा संरचनामा क्षति पुगेको छ । रातिको समयमा एक्कासि खोलो फर्केर बाढी पसेपछि आयोजनाको हेडवक्र्स क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो ।

    आयोजनाको निर्माणाधीन बाँध, इन्टेक, पानी थिग्राउने पोखरीका संरचनामा सबैभन्दा बढी क्षति भएको आयोजनाका निर्देशक काजी लामाले बताए । उनले भने, ‘राति ठूलो पानी परिरहेको थियो । अविरल परेको पानीले खोलामा बाढी आएर एक्कासि संरचनामा क्षति भयो । आयोजनाको हेडवक्र्स र हेडरेस सुरुङमा समेत क्षति भएको छ ।’

    बाढीले आयोजनाको संरचना निर्माणका लागि मजदुर शिविर र निर्माण व्यवसायीको गोदाममा समेत क्षति गरेको छ । बाढीले गोदाममा राखेको सिमेन्ट, केमिकल राखिएका ड्रम, डन्डीमा क्षति पु-याएको छ । त्यस्तै, गिटीबालुवासमेत बगाएको उनले जानकारी दिए । खोलाबाट पानी तान्न राखेका मेसिन र अन्य मेसिनमा समेत क्षति पुगेको उनको भनाइ छ । गत बुधबारको बाढीका कारण गत दिनभर मेसिन उपकरण झिक्ने काम भएको आयोजना प्रमुख मनोहरि सापकोटाले जानकारी दिए ।

    स्रोत:नयाँपत्रीका