स्युरीखोला जलविद्युत् आयोजना – विद्युत्गृह जलाउने स्थानीयको चेतावनी

    2732

    लमजुङ ५ फागुन – उत्तरी लमजुङको बाहुनडाँडा र भुलभुले गाविसको सीमावर्ती क्षेत्रमा निर्माण गरिएको ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत् आयोजनाले स्थानीयसँग गरेको सम्झौतालाई तत्काल सम्बोधन नगरिए आयोजनाको विद्युतगृहमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
    आयोजना निर्माणका बेला प्रबद्र्धकहरुले आयोजना प्रभावित क्षेत्रको विकासका लागि १८ लाख ३० हजार रकम विनियोजन गर्न नसकेपछि आयोजना प्रभावित क्षेत्रका बासीन्दा विरोधमा उत्रिएका थिए । स्थानीय अवरोध हटाउन आयोजनाले प्रभावित क्षेत्रका विद्यालयका नाममा १५ लाख बराबरको शेयर दिएको भएपनि आधिकारिक नभएको र बाँकीे ३ लाख ३० हजार रकम पनि अहिलेसम्म नदिएको स्थानीयको गुनासो छ ।
    प्रवद्र्धृकहरुले शुरुमा स्थानीयलाई ललाइफकाइ गरी भ्रमित आशा देखाएर सहमति गरेको र आयोजना निर्माणको कार्य सम्पन्न गरिएपनि प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गरिएको स्थानीयको आरोप छ । आयोजनाको उद्घाटन गर्न नदिने र आयोजनाले विगतमा स्थानीयसँग गरेको सहमती पूरा नभए आयोजनाको पावरहाउसमा आगो लगाइदिने स्थानीय जितबहादुर गुरुङले चेतावनी दिएका छन् ।
    आयोजनाले स्थानीयलाई छुट्ट्याएको रकममध्ये भुलभुले गाविस वडा नम्बर ८ को विकासका लागि ३ लाख, वडा नम्बर ७ का लागि ६ लाख र वडा नम्बर १ देखि ६ सम्मका लागि १÷१ लाखका दरले रकम दिने सर्त रहेको स्थानीयले बताएका छन् ।
    आयोजनाले स्थानीय तहमा स्वास्थ्यचौकी निर्माणका लागि २ लाख, उपल्लो ङादीस्थित खानेपानी आयोजनालाई १ लाख र खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि छुट्ट्याएकोे ३० हजारसमेत नदिएको प्रति स्थानीय आक्रोशित बनेका छन् ।
    आयोजना ७५ करोडको लागतमा सम्पन्न भएपनि आयोजना निर्माण कम्पनी न्यादी ग्रुप प्रालिले ८० करोड लागत लाग्यो भन्दै स्थानीयलाई रकम नदिएको उनीहरूले आरोप लगाएका छन् ।
    भुलभुले र बाहुनडाँडाको सिमानामा रहेको सिउरी मुहानमा बाँध बाँधेर १ हजार ६ सय ६७ मिटर लामो पेनस्टक पाइपमार्फत झन्डै ४ सय ४० ग्रस हेडबाट लुदी गाउँ नजिकै पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभीए प्रसारण लाइनमा जोडिसकेको छ ।

    प्रस्तुति: कारोबार