संगठित अपराध बन्दै विद्युत् ठगी

    1357

    काठमाडौं- पछिल्लो १२ वर्षदेखि उपभोक्तासँग मिलेर मिटर उल्टो घुमाई राज्यको अर्बौं राजस्व डुबाउने र लोडसेडिङ बढाउन मद्दत पुर्‍याउने घटनाका आरोपीलाई संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ।

    महानगरीय प्रहरी अपराध महाशाखाको नेतृत्वमा माघ ९ बाट सुुरु कारबाहीमा नेपाल विद्युत् प्राधिकरणका १२ कर्मचारी र ६ जना उपभोक्ता प्रहरी हिरासतमा छन्।

    महाशाखा र महानगरीय प्रहरी परिसर, काठमाडौंले विद्युत् चोरी र राजस्व ठगी घटनामा संगठित र व्यावसायिक सञ्जाल सक्रिय रहेको अनुसन्धानमा देखिएपछि संगठित अपराधमा समेत जोडेर घटनाको थप अनुसन्धान थालेको हो।

    ‘केही व्यक्ति र संस्था मात्र होइन, ठूलो गिरोह र उपभोक्ता समूह घटनामा संलग्न देखियो, त्यसैले थप र सूक्ष्म अनुसन्धान आवश्यक छ : प्रहरी

    अनुसन्धान अधिकारीका अनुसार महाशाखाका अनुसार हिरासतमा रहेका आरोपीलाई थप अनुसन्धानका लागि हिरासतमै राख्न र सक्रिय तथा संगठित सञ्जाल भत्काउन संगठित अपराधसमेत लगाउन आवश्यक देखिएको हो। महाशाखा र परिसरले आफ्ना वरिष्ठ अधिकारीको नेतृत्वमा क्षेत्र र अनुसन्धानका लागि टोली परिचालित गरिरहेको छ।

    महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बिद्युत्तको मिटर उल्टो घुमाउने र अन्य उपकरण प्रयोग गरि विद्युत् चोरी तथा राजस्व ठगीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन आरोपीलाई हिरासतमै राख्न आवश्यक देखिएको हो। उनले ठगीमा म्याद लिएका आरोपीलाई २४ दिनभन्दा बढी थुनामा राख्ने कानुनी प्रावधान नभएका कारण समेत संगठित अपराध आकर्षित गर्न थालिएको हो।

    ‘केही व्यक्ति र संस्था मात्र होइन, ठूलो गिरोह र उपभोक्ता समूह घटनामा संलग्न देखियो, थप र सूक्ष्म अनुसन्धानका लागि प्रहरीलाई समय चाहिएको हो’, एसएसपी अमात्यले भने। प्रहरीले ठगी मुद्दामा म्याद लिएका आरोपीलाई संगठित अपराधमा म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरिरहेको छ। प्रहरी हिरासतमा रहेका आरोपीको म्याद शुक्रबार सकिँदै छ।

    मिठाइदेखि मासुपसलसम्मका मिटर उल्टो

    काठमाडौंमा सञ्चालित ठूलो सञ्जाल भएका मिठाइपसल, ठूलो परिमाणमा विद्युत् खपत हुने कोल्डस्टोर, रिचार्ज सेन्टर, पानी उद्योगदेखि ठूला उद्योगसम्मले मिलोमतोमा विद्युत् मिटर उल्टो घुमाउँदै राजस्व छलिरहेको भेटिएको छ। ठूलो व्यावसायिक सञ्जाल रहेको रामेश्वरम् स्विटले विगत लामो समयदेखि आफ्ना शाखामा मिटर उल्टो घुमाएर ठगी गरेको खुलेको छ। यस्तै, काठमाडौंकै पुरानो कोल्ड स्टोरमध्ये एक फुडल्यान्डदेखि राजधानीमा रहेका टेम्पु रिचार्ज केन्द्रले समेत मिटर उल्टो घुमाउँदै आएको फेला परेको छ।

    महाशाखाले दोस्रोपटक माघ १३ मा गरेको कारबाहीमा कपनस्थित रामकृष्ण ढुंगेलको शवनम प्लास्टिक उद्योग, चावहिलमा मुरारी थापाले सञ्चालन गरेको टेम्पु चार्जिङ कारखाना र ललितपुर इमाडोलमा रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा धेरै वर्षअघिदेखि मिटर उल्टो घुमिरहेका थिए। प्रहरीले बिजुलीका सिल र मिटर बरामद गरे पनि सञ्चालक पक्राउ पर्न सकेका छैनन्। यस्तै, पानी उद्योगका बुद्धकुमार लामा, फुडल्यान्डका नवराज प्रधानसमेत दोस्रो चरणमा पक्राउ परेका हुन्।

    प्रहरीले माघ ९ मा प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठसहित अन्य १६ जना लाई पक्रेको थियो। पक्राउ पर्नेमा बालाजुका सुपरभाइजर कामनपा– २८ का श्रेष्ठ, प्राधिकरणका पूर्वमेन्टिनेन्स टेक्निसियन रामेछापका टहलबहादुर कार्की, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भक्तपुर नगरकोटका भगवान पाण्डे छन्। त्यस्तै, पक्राउ परेका मिटररिडरमा सर्लाहीका महादेव प्रधान, सिन्धुपाल्चोकका अच्युत खड्का, अछामका दिलबहादुर साउद, नुवाकोटका ओम ढुंगाना, रामेछापका श्याम बस्नेत, काठमाडौं, नागार्जुनका प्रदीप शर्मा, दाङ, फूलबारीका सूर्यबहादुर थापा, काठमाडौंका ठाकुर महर्जन र मनिज श्रेष्ठ छन्। पक्राउ परेका मिटररिडरमध्ये प्रधान हेटौँडा वितरण केन्द्र, खड्का बानेश्वर शाखा तथा थापा लगनखेल शाखामा कार्यरत हुन् भने अन्य सात जना वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कमा।

    प्रहरीले लोडसेडिङ बढाउने कार्यमा संलग्न काठमाडौंमा चेन मिठाइपसल रामेश्वरम् स्विटका नेपाली पार्टनर रमेश चुडाल, मञ्जुश्री खानेपानीका सञ्चालक काठमाडौं गोकर्णेश्वर निवासी कुमार लामा, मिठाइ व्यापारी भारत हावँडा जिल्लाका तपन घोस, भारत मोतिहारीका कपास व्यापारी परवेज आलमलाई पनि पक्राउ गरेको छ।

    यसरी हुन्थ्यो चोरी

    प्राधिकरणका मिटररिडरले उद्योग–कलकारखाना तथा व्यक्तिका घर गई मिटरमा उठेको रकमभन्दा कम अंकको बिल बनाइदिने सहमतिपछि ‘उल्टो घुमाउने’ धन्दा चलाउँथे। ग्राहकको मिटरमा नियमित एक हजार आउने भए न्यूनतम बनाएबापत मासिक निश्चित रकम कर्मचारीले पाउने सर्तमा धन्दा फस्टाउँदै गयो। वषर्ौंदेखि प्राधिकरणको एकै शाखा र एउटै पदमा रहेका कर्मचारीले ‘मिटर उल्टो घुमाउने’ धन्दालाई देशभर फैलाए।

    यस्तो धन्दामा प्राधिकरणका बहालवाला र पूर्वटेक्निसियन तथा सुपरभाइजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अंकलाई बिलबराबरको अंक उल्टोबाट घुमाई मिलाउने गर्थे। अंक मिलाएपछि सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैंले सिल लगाउँदै आएका थिए।

    प्रहरीले टेक्निसियन स्वयंले मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरण सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्च लाइट गैरकानुनी रुपमा साथमै राख्ने गरेका थिए ।

    बयानले खोल्दैछ थप उद्योगको नामावली

    प्रहरी हिरासतमा रहेका आरोपीले बयानमा काठमाडौं, मकवानपुर, पर्सा, मोरङ, सुनसरी, रुपन्देही र बाँकेसम्म फैलिएको धन्दाको खुलासा गरेका छन्। प्रहरीको प्रारम्भिक बयानमै आरोप स्वीकार गरेका कर्मचारीले थप बयानमा आफूहरु मात्र नभई अन्य थुप्रै कर्मचारीको प्राधिकरणको एउटै पदमा रहनुको कारण धन्दा भएको बताएका हुन्।

    महाशाखाले सरकारको ‘उज्यालो नेपाल’ अभियानलाई सघाउ पुर्‍याउँदै थालेको विशेष अभियानअन्तर्गत आइतबार सार्वजनिक गरेका १२ प्राधिकरणका कर्मचारीले देशका प्रतिष्ठित र अत्याधुनिक मुनाफा कमाउने उद्योग र कलकारखानाले विद्युत् मिटर बिगार्दा सर्वसाधारण अन्धकारमा बस्नुपरेको यथार्थ बाहिर आएको हो। प्रहरीले तीन साता लामो अनुसन्धानमा देशका प्रमुख औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, ठूला होटलदेखि कलकारखाना र अत्यधिक बिजुली खपत हुने स्थानमा विगत १२ वर्षदेखि मिटर उल्टो घुमाएर ठगी भइरहेको भेटिएको हो।

    स्रोत:नागरिक