नेपाल–भारत जेएसटिसीको छैटौँ बैठक आजदेखि पोखरामा

1002

अन्तरदेशीय प्रसारण लाइन मुख्य एजेन्डा

२०७५ माघ ९ बुधबार | काठमाडौं

नेपाल–भारत ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौँ (जोइन्ट स्टेयरिङ कमिटी (जेएसटिसी) बैठक बुधबारदेखि पोखरामा हुने भएको छ । बैठकमा भाग लिन भारतीय ऊर्जासचिव अजय भल्ला नेतृत्वको टोली नेपाल आइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकमा न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, १ सय ३२ केभीको कटैया–कुसाहा प्रसारण लाइन र रक्सोल–परवानीपुर दोस्रो सर्किट प्रसारण लाइन निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

यस विषयमा सचिव भल्लाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा जानकारी गराएका छन् । सोहीक्रममा सचिव भल्लाले न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबारे प्राविधिक तहमा पर्याप्त छलफल भएको भन्दै सचिवस्तरीय बैठकमा त्यसको टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको जानकारी गराए । साथै इनर्जी बैंकिङ गर्न प्राविधिक तहमा छलफल भएको भन्दै त्यसमा सहमति प्रयास हुनेसमेत उनले बताए ।

मन्त्री पुनले नेपालले भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्यका लागि नेपाल इच्छुक रहेको बताए । मन्त्री पुनले सरकारले बुढीगण्डकी र दूधकोसीजस्ता ठूला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताए । उनले तल्लो तटीय लाभका बारेमा समेत नेपालले भारतसँग छलफल गर्न चाहेको बताए ।

‘हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदै छौँ,’ उनले भने, ‘यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्ने हामीलाई विश्वास छ ।’ उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि सकारात्मक हुने भन्दै धन्यवादसमेत दिए । नेपालमा हाल दुईतिहाइ बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन उनले आग्रह गरे ।

‘हाल देशमा बलियो र स्थिर सरकार छ,’ मन्त्री पुनले भने, ‘तपाईंमार्फत भारतीय लगानीकर्तामा नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ भन्ने सूचना प्रवाह होस् भन्ने चाहन्छु ।’ मन्त्री पुनसँगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे समेत मन्त्री पुनलाई जानकारी गराएका थिए ।

 

स्रोत:नयाँपत्रीका