चितवन लोडसेडिङमुक्त

    1162

    रत्ननगर । सरकारले चितवन जिल्लालाई बिहीबारदेखि लागू हुने गरी लोडसेडिङमुक्त गरेको छ ।

    उर्जा मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र रत्ननगर टाँडी वितरण केन्द्रले जिल्लालाई लोडसेडिङमुक्त गरेको हो । बिहीबारदेखि नै चितवनलाई लोडसेडिङमुक्त गरेर बिजुली नकाट्न जिल्लाका दुई वितरण केन्द्रलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका थिए । अब चितवनमा प्राविधिक तथा सिस्टम खराबीले बाहेक बत्ती नजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    ‘प्राविधिक कारणले बाहेक अब चितवनमा लोडसेडिङ हँुदैन’, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवले भने, ‘प्राविधिक कारणले लाइन गई हाल्यो भने पनि १० मिनेटमै आउछ ।’ औद्योगिक फिडरमा भने लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । आफ्नै ट्रान्सफर्मर राखेर उद्योग चलाइरहेका उद्योगमा भने दैनिक सात घण्टा लोडसेडिङ हुने यादवले बताए । उद्योगहरुमा बिहान चार घण्टा र बेलुका तीन घण्टा लोडसेडिङ हुनेछ । औद्योगिक फिडरमा बिहान ९ बजे देखि ४ बजेसम्म र बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म लाइन हुनेछ ।

    साना उद्योगहरुमा भने लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ । आद्योगिक फिडरअन्तर्गतका उद्योगहरुमा मात्र लोडसेडिङ हुने यादवले बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लोडसेडिङमुक्त गर्न निर्देशन दिएपछि बिहीबारै टाँडी वितरण केन्द्रले पत्रकार सम्मेलन तथा भरतपुर वितरण केन्द्रले विज्ञप्ति जारी गरी चितवन जिल्ला लोडसेडिङमुक्त भएको घोषणा गरेको हो ।

    ‘माघ २२ गते देखिनै चितवनमा लोडसेडिङ भएको छैन’, रत्ननगर टाँडी वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले भने, ‘आधिकारिकरूपमा भने बिहीबारदेखि लोडसेडिङ नगर्ने घोषणा गरिएको हो ।’ प्राधिकरणको अन्तरिक व्यवस्थापन र भारतबाट बिजुली आयत गरिएपछि चितवन जिल्लालाई लोडसेडिङमुक्त गर्न सहज भएको । चुहावट नियन्त्रण र विद्युत् व्यवस्थापनपछि चितवनलाई लोडसेडिङमुक्त गर्न सफल भएको महतोले बताए । चितवनमा भरतपुर वितरण केन्द्रमा ६८ हजार र रत्ननगर टाँडी वितरण केन्द्रमा ४८ हजार १०२ ग्राहक रहेका छन् ।

    पश्चिम चितवनमा अहिले दैनिक २० मेघावाट र पूर्वीचितवनमा २० मेघावाट विद्युत् खपत हुँदै आएको छ । औद्योगिक फिडरअन्तर्गतका उद्योगहरुमा भने दैनिक ८ मेघावाट विद्युत् खपत हुदै आएको भरतपुर वितरण केन्द्रले जनाएको छ । गर्मी बढदै जाँदा खपत पनि बढ्दै जाने भरतपुर वितरण केन्द्रका प्रमुख यादवले बताए । प्राधिकरण प्राविधिक हिसाबले जिल्लालाई लोडसेडिङमुक्त गराउन सफल भएको यादवले बताए ।

    चितवनका दुई वितरण केन्द्र चुहावट नियन्त्रण गर्न सफल भएका छन । २०६२÷७३ अघि चितवनमा करिब ५२.२८ प्रतिशत चुहावट थियो । चुहावटकै कारण प्राधिकरण धरासायी बनेपछि सरकारले २०६२÷७३ देशभर चुहावट नियन्त्रण अभियान चलाएको थियो । अहिले भरतपुर केन्द्रमा तीन प्रतिशत र रत्ननगर वितरण केन्द्रमा २.५५ प्रतिशत मात्र चुहावट रहेको छ । चितवनका दुई वितरण केन्द्रको ठूलो प्रयासमा प्राधिकरण चितवनमा चुहावट नियन्त्रण गर्न सफल भएको छ । चुहावट नियन्त्रण भएकै कारण जिल्लालाई लोडसेडिङमुक्त गर्न सकिएको भरतपुर वितरण केन्द्रका प्रमुख यादवले बताए । जिल्ला लोडसेडिङमुक्त घोषणा भएपछि अहिले कायम रहेको चुहावट पनि नियन्त्रण गर्न आवश्यक रहेको भन्दै यादवले चुहावट नियन्त्रणको कामलाई तीव्रता दिने बताए । सरकारले यस भन्दा अघि काठमाडौं उपत्यका र पोखरालाई लोडसेडिङमुक्त गराएको थियो । लोडसेडिङमुक्त भएको चितवन तेस्रो जिल्लामा परेको छ । चितवन दैनिक १७ वटासम्म लोडसेडिङ भएको जिल्ला हो ।

    स्रोत:चितवन पोस्ट